'युरोपेली बजारमा ब्रिटेनको पहुंच सीमित'

  • 25 जुन 2016
brexit तस्वीर कपीराइट AFP
Image caption इयु छाड्ने ब्रिटेनको निर्णयले विश्व वित्तीय बजारमा हलचल ल्याइएदिएको छ

युरो मुद्रा प्रचलनमा रहेका मुलुकहरुको समूहका अध्यक्षले ब्रिटेनले इयु छाडेपछि युरोपको भित्री बजारमा उसका वित्तीय निकायहरुको पहुंच सीमित हुने बताएका छन्।

योरुन डाइसलब्लुमले ब्रिटेनको बहिर्गमनका कारण कतिपय ठूला व्यापारिक प्रतिष्ठानहरुले उक्त मुलुक छाड्ने बताए।

फाइदा

कतिपय व्यापारिक प्रतिष्ठानले लण्डन शहर छाडेपछि त्यसको फाइदा अन्य प्रतिद्वन्दी वित्तीय केन्द्रहरुलाई पुग्ने डाइसलब्लुमले बताए।

त्यस्तो फाइदा लिनसक्ने सूचीमा सबैभन्दा अगाडि फ्रयाङ्कफर्ट र एम्स्टरड्याम देखिन्छन्।

उनले भने, “ब्रिटिश जनताले अनिश्चयको बाटो रोजेका छन्। हामीले त्यो बाटो पछ्याउनुहुंदैन। हामीलाई अहिले युरोपमा, युरोजोनमा नचाहिएको चीज भनेको अस्थिरता हो। मलाई विश्वास छ हाम्रो साझा स्वार्थ छ जुन आगामी हप्ता र महिनाहरुमा प्रष्ट हुनेछ”।

ब्रिटेनले इयु छाड्ने निर्णय गरेपछि त्यसले विश्वभरका प्रमुख बजारहरुमा नकारात्मक प्रभाव पारेको छ।

प्रभाव

विश्वका प्रमुख शेयर बजारहरुमा शेयरको भाउ घटेको छ।

यसैगरी ब्रिटिश मुद्रा पाउण्डको मूल्य खस्किएको देखिएको छ।

यस्ता परिस्थितिमाझ वित्तीय निकायहरुले ब्रिटेनको उपल्लोस्तरको ‘क्रेडिट रेटिंग’ खतरामा परेको चेतावनी दिएका छन्।

आफ्नो वित्तीय प्रतिवद्धताहरु पूरा गर्न कुनै मुलुक कतिको सक्षम हुन्छ भन्ने आधारमा ‘क्रेडिट रेटिंग’ दिने गरिन्छ।

वित्तीय निकाय ‘मुडिज’ले भनेको छ, ब्रिटिश सरकारका धितोहरुलाई दिइएको ‘क्रेडिट रेटिंग’ अब ठूलो जोखिममा छ।

'मुडिज'ले ब्रिटिश ऋणको अवस्थालाई ‘एएवन’ दिदैं आएको छ।

उक्त निकायले अब त्यो 'रेटिंग'लाई स्थायीबाट झिकेर ऋणात्मक सम्भावनाका रुपमा राखेको छ।

ब्रिटेनले इयुसंगको व्यापारिक सम्बन्धबारे पुन: वार्ताहरु गरिरहंदा अबका केही वर्ष बजारमा अनिश्चिय चुलिने उक्त निकायले बताएको छ।