ब्रिटेनका इयु आयुक्तद्वारा राजिनामा

  • 25 जुन 2016
Image caption आयुक्त हिलले जनमत संग्रहको निर्णयबाट आफू निकै निराश भएको बताए

संयुक्त अधिराज्य (युके) का युरोपेली आयुक्त लर्ड जनाथन हिलले पदत्याग गरेका छन्

इयु छाड्ने पक्षमा ब्रिटेनले मत जाहेर गरेपछि हिलले 'जे भयो त्यो उल्टाउन सकिन्न' भन्दै राजिनामाको घोषणा गरेका हुन्।

बक्तव्यमा उनले जनमत संग्रहको परिणामपछि 'वित्तिय सेवाकानिम्ति आयुक्तको रुपमा काम गरिरहन आफूलाई उपयुक्त नलागेको' उल्लेख गरेका छन्।

तर कार्यभार हस्तान्तरणकानिम्ति उनी केही हप्ता कायमै रहने छन्।

निराश

उनलाई सामाजिक संवाद र युरोकानिम्ति इयु आयुक्त रहेका लातभियाका राजनीतिज्ञ भाल्डिस डोमब्रोफस्किशले बिस्थापित गर्ने छन्।

ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनका नजिकका सहयोगी हिलले युके युरोपेली युनियनभित्रै रहनु पर्नेमा जोड दिने गरेका थिए।

युरोपेली आयुक्तहरु ब्रसल्समा विविध नीतिगत विषयसँग सम्बन्धित कानुन बनाउने क्षमता सहितका शक्तिशाली अधिकारीहरुमा पर्छन्।

जनमत संग्रहको परिणामबाट आफू निकै निराश भएको आयुक्त हिलको भनाई छ।

आग्रह

उनले भने, “मैले यसको निष्कर्ष फरक ढंगमा होस भन्ने चाहेको थिए। मैले स्वतन्त्र व्यापार, लचिलो, बहिर्मुखी र प्रतिष्पर्धी युरोपको पक्षमा ब्रिटेनले भूमिका निर्वाह गर्ने आशा गरेको थिए। तर ब्रिटिश जनताले फरक निर्णय लिए र प्रजातन्त्रले काम गर्ने बाटो यही हो।”

युरोपेली देशका विदेश मन्त्रीहरुले इयु छाड्नकानिम्ति तिव्र रुपमा छलफल थाल्न ब्रिटेनलाई आग्रह गरेकै बेला लर्ड हिलको राजिनामा घोषणा आएको छ।

त्यस्तो दवावका माझ स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले इयुमा स्कटल्याण्डको स्थानको सुरक्षाकानिम्ति ब्रसल्ससँग तुरुन्तै छलफलको प्रयास गर्ने बताएकी छन्।

स्कटल्याण्डको स्वतन्त्रताको निम्ति नयाँ जनमत संग्रहको सम्भावना उच्च रहेको उनको भनाई छ।

मन्त्रिपरिषदको बैठक पछि उनले त्यस्तो सम्भावना दर्शाएकी हुन्।