काबुल घटनाबारे क्यानाडासंग कुराकानी गरिंदै

  • 25 जुन 2016

अफगानीस्तानको राजधानी काबुलस्थित क्यानाडेली दूतावासको सुरक्षामा खटिएका नेपालीको केही दिन अघि बम विष्फोटमा परी भएको मृत्युको विषयमा नेपालले क्यानाडा समक्ष कुटनीतिक माध्यमबाट कुराकानी थालेको अधिकारीहरुले बताएका छन्।

खासगरी उनीहरुको कुन अवस्थामा मृत्यु भएको, उनीहरुको कार्यस्थलका सुरक्षाका प्रश्न र पीडित तथा पीडितका परिवारका निम्ति क्यानाडेली सरकारले के कस्तो क्षतिपूर्ति दिन सक्छ भन्ने विषय ती कुराकानीमा उठाइएको बताइएको छ।

दायित्व

गत सोमबार दिउँसो काबुलमा क्यानाडेली दूतावासको सुरक्षाको लागि एक ब्रिटिश सुरक्षा कम्पनीको तर्फबाट कार्यरत नेपालीहरु चढेको बसमा बम विष्फोट हुँदा १३ नेपालीको मृत्यु भएको थियो। अन्य केही घाईते भएका थिए।

उक्त घटनासंगै त्यहाँ उनीहरु काम गर्ने र बस्ने स्थानको सुरक्षा प्रबन्ध तथा क्यानाडेली सरकारको दायित्वबारे विशेषगरी नेपालमा चर्चा चलिरहेको छ।

सोही सन्दर्भमा नेपाली कुटनीतिक अधिकारीहरुले क्यानाडेली अधिकारीहरु समक्ष आफ्ना चासो प्रकट गरेको बताइएको छ।

नेपाली पक्षले दिल्लीस्थित क्यानाडेली उच्चायोगका उच्चायुक्त तथा क्यानाडेली परराष्ट्र मन्त्रालयका अधिकारीहरु सामु ती चासो प्रस्तुत गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए।

“हाम्रा मानिसको उद्वारको काम सकिएपछि हामीले क्यानाडेली सरकारसंग यो घटना कस्तो परिस्थितिमा घट्न गयो भन्ने बारे धारणा बुझ्ने, अनि मृतक र घाईतेहरुप्रति क्यानाडेली सरकारले कस्तो दृष्टिकोण बनाइराखेको छ भन्ने विषयमा कुटनीतिक रुपमा बुझ्ने काम भइरहेको छ,” उनले भने।

सुरक्षामा ध्यान

नेपालले राखेका मूल चासोमा पहिलो, घटना कुन परिस्थितिमा कसरी हुन पुग्यो भन्ने बुझ्ने; दोस्रो, मानवीय जिम्मेदारीसहित पीडित पक्षको क्षतिपूर्ति तथा जीविकाबारे क्यानाडेली सरकारले कुनै दायित्व महशुश गर्छ कि भन्ने; तथा तेस्रो, नेपाली सुरक्षाकर्मीको सुरक्षामा पर्याप्त ध्यान पुग्यो कि पुगेन भन्ने रहेको छ।

तस्वीर कपीराइट bbc

यी चासो अब केही दिनभित्रै क्यानाडास्थित नेपाली राजदूतले त्यहाँको परराष्ट्र मन्त्रालयमा गई औपचारिक बुझाउने समेत बताइएको छ।

हुन त उक्त घटनामा परेका नेपाली सुरक्षाकर्मीहरु मूलत: सेब्र नाम गरेको ब्रिटिश सुरक्षा कम्पनीका लागि काम गर्थे।

तर यस विषयमा क्यानाडाको पनि नैतिक तथा मानवीय जिम्मेवारी रहने भन्दै कुटनीतिक पहल थालिएको हो।

घटनामा मारिएकाहरुको शव लिन नेपाल सरकारले नेपाल वायुसेवा निगमको विमान पठाएको थियो।

मृतकहरुलाई उनीहरुको बीमा रकम सहित दश लाख रुपियाँको क्षतिपूर्ति दिने नेपाल सरकारले यस अघि नै घोषणा गरिसकेको छ।