एसियाली बजार सुधारोन्मुख

  • 27 जुन 2016
brexit तस्वीर कपीराइट AFP
Image caption इयु छाड्ने ब्रिटेनको निर्णयसंगै विश्वबजारमा नकारात्मक असर परेको छ।

ब्रिटेनमा जनमत संग्रहको परिणामपछि शुक्रबार उथलपुथल बेहोरेको एसियाली बजारमा पहिलोपटक सुधार देखिएको छ।

परम्परागत रुपमा लगानी सुरक्षित मानिने सुन, डलर र यनमा सुधार देखिएको छ।

सन्तोष

एसियाली बजारमा पाउण्डको भाउमा भने थप गिरावट आएको छ।

तर शुक्रबार जस्तो नाटकीय रुपमा भने पाउण्ड घटेको छैन।

बीबीसीकी एसिया आर्थिक संवाददाता करिश्मा भास्वानी भन्छिन् ,“अधिकारीहरु यन बलियो भएकोप्रति चिन्तित देखिन्छन्। यो लगानी सुरक्षित हुने मुद्राका रुपमा हेरिएको छ र लगानीकर्ताहरुले पाउण्ड बेचेर यन किनिरहेका छन्।

“तर त्यसले सुधारको गतिमा रहेको जापानी अर्थतन्त्रलाई असर पारिरहेको छ किनकी त्यसले विदेशमा जापानी वस्तुहरु महंगो तुल्याउनेछ”।

शुक्रबार ८ प्रतिशतले तल झरेको जापानको शेयर बजार सोमबार १ दशमलब ३ प्रतिशतले उकालो लागेको छ।

नयां योजना

ब्रिटिश अर्थमन्त्री जोर्ज ओजबर्नले अबको केही घण्टामा युरोपमा कारोबार सुरु हुनुअघि वित्तीय बजारलाई आश्वस्त पार्ने कोसिस गर्ने बताइएको छ।

ब्रिटिश अर्थमन्त्रालयका प्रवक्ताले ओजबर्नले अर्थतन्त्र जोगाउने विषयमा चालिने कदमहरु घोषणा गर्ने बताएका छन्।

विज्ञहरुले भने पाउण्डको भाउमा १० प्रतिशतसम्मको गिरावट आउने अनुमान गरेका छन्।

इयु छाड्ने पक्षमा अभियान चलाएकाहरुले मतपरिणामको नकारात्मक प्रभावलाई बढाइचढाइ गरिएको टिप्पणी गरेका छन्।

डेली टेलिग्राफ अखबारमा लेख्दै लण्डनका पूर्व मेयर बोरिस जोन्सनले ब्रिटेन एकल बजारको सदस्य रहिरहने र ब्रिटिशहरुले युरोपभर खुला रुपमा आवागमन गर्न पाइराख्ने उल्लेख गरेका छन्।

यसैबीच विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले आफ्नो छायां मन्त्रिपरिषद्का ११ जना सदस्यले राजीनामा गरेपनि आफूले पद नछाड्ने बताएका छन्।

युरोपेली संघभित्रै रहने पक्षमा व्यग्रताका साथ अभियान चलाउन विफल भएको आरोप उनीमाथि लगाइएको छ।