स्वतन्त्र आवागमनमा इयुले 'संझौता गर्दैन'

  • 29 जुन 2016
Image caption इयुका नेताहरुले ब्रिटेनलाई निर्वाध आवागमनको सिद्धान्त बारे कुनै सम्झौता नहुने बताएका छन्

युरोपेली संघका नेताहरुले ब्रिटेनले एकल युरोपेली बजारमा पहुंच कायमै राख्‍ने हो भने,मानिसहरुको निर्वाध ओहोर दोहोरको सिद्धान्तलाई सम्मान गर्नै पर्ने चेतावनी दिएका छन्।

ब्रसल्समा आयोजित शिखर बैठकको अन्त्यमा बोल्दै युरोपेली परिषदका अध्यक्ष डोनल्ड टस्कले भनेका छन्, 'ब्रिटेनले इयुबाट बाहिरिंदा आफूलाई मनलागेको प्रावधान स्वीकार्ने मन नपरेको छाड्ने गर्न पाउँदैन।'   फ्रान्स तथा जर्मनीका नेताहरुले पनि युरोपेली क्षेत्रमा मानिसहरुको निर्वाध आवागमनको सिद्धान्तका बारेमा कुनै सम्झौता नहुने बताएका छन्।

४० बर्षमा पहिलो पटक युरोपेली नेताहरुले ब्रिटेनको उपस्थिति बिना शिखर बैठक गरेका थिए।

आगामी योजना

युरोपेली परिषदका अध्यक्ष डोनल्ड टस्कले, ब्रिटेनको सहभागीता विना नै युरोपका नेताहरुको अर्को बैठक हुने बताएका छन्।

आउँदो सेप्टेम्बर १६ तारिखमा ब्राटिस्लाभामा हुने त्यस्तो बैठकमा, ब्रिटेन युरोपेली संघबाट बाहिरिने प्रकृयाका बारेमा छलफल गरिने उनको भनाई थियो।

युरोपेली आयोगका अध्यक्ष जंक्लोड युंकरले, युरोपेली संघ सम्बन्धी लिस्बन सन्धिको धारा ५० लाई सकृय नतुल्याएसम्म, संयुक्त अधिराज्यका प्रतिनिधिसंग सो देश इयुबाट बाहिरिएपछि हुने सम्बन्धहरुका बारे कुनै छलफल नगरिनेमा पुन: जोड दिएका छन्।

सन्धिको प्रावधान सकृय तुल्याउने चाहनाका बारे औपचारिक रुपमा जानकारी नगराइएसम्म कुनै वार्ता हुंदैन, युंकरले बताए।

शिखर बैठकपछि एउटा संयुक्त बक्तव्य जारी गर्दै ब्रिटेन बाहेक, इयुका सत्ताइस सदस्य राष्ट्रका नेताहरुले भनेका छन्, उनीहरुले भविष्यमा युके इयुको एउटा निकट साझेदार बन्ने आशा व्यक्त गरेका छन्। र यस सम्बन्धमा युकेले पनि आफ्नो धारणा प्रस्ट पारेको आफूहरुले हेर्न चाहेको उनीहरुको भनाई छ।

युके संग भविष्यमा तेस्रो देशका रुपमा हुने कुनै पनि सम्झौता, युरोपेली संघका चार आधारभूत स्वतन्त्रताको सिद्धान्तको पालनामा आधारित हुनेछ।

एकल बजारमा पहुंचका लागि ति चारै स्वतन्त्रतालाई स्वीकार्नु पर्नेछ।

‌इयुको आन्तरिक बजारलाई सम्बोधन गर्ने ति चार स्वतन्त्रतामा उत्पादन, कामदार, सेवा र पूंजीको निर्वाध आवागमनको स्वतन्त्रता पर्दछन्।