सगरमाथा आरोहणको दावीबारे अनुसन्धान

  • 29 जुन 2016
तस्वीर कपीराइट

संसारको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय जोडी भएको बताउने दुई जना पर्वतारोहीको दावीमाथि भारतीय प्रहरीले अनुसन्धान गरिरहेका छन्।

प्रहरी अधिकारी जोडी दिनेश र तारकेश्वरी राठोडले गत मे महिनाको २३ तारिखमा ८ हजार ८५० मिटर अग्लो उक्त हिमाल चढेको यसै महिना पत्रकारहरुलाई बताएका थिए।

तर सो जोडीले डिजिटल प्रविधि प्रयोग गरेर परिवर्तन गरेका तस्वीर देखाएर गलत दावी गरिरहेको केही पर्वतारोहीले आरोप लगाएका छन्।

श्रीमान, श्रीमती राठोड र उनीहरुसंगै चढेका पथप्रदर्शकले भने ती आरोप अस्वीकार गरेका छन्।

आशंका

उनीहरु दुबैजना पश्चिम भारतीय शहर पुणेमा कन्सटेबलका रुपमा कार्यरत छन् र त्यहाँको प्रहरीले अहिले सो विषयमा अनुसन्धान गरिरहेको छ।

सो जोडीसंग नेपाल सरकारको पर्यटन र पर्वतारोहण विभागले दिएको प्रमाणपत्र भएको र ती प्रमाणपत्र सक्कली हुन् कि होइनन् भनेर पत्ता लगाउन नेपाल सरकारलाई सम्पर्क गर्ने एकजना प्रहरी अधिकारीले बताए।

राठोड जोडीले जुन महिनाको ५ तारिखमा आफ्नो सपना पुरा भएको र आफुले सगरमाथा चढेको भन्दै पत्रकार सम्मेलन गरेको थियो।

तर पुणेका पर्वतारोही सुरेन्द्र शेल्के र अरु पर्वतारोहीले उनीहरुको दावीमाथि शंका गरे।

उनीहरुले सगरमाथा चढेको निकै समय बितेपछि पत्रकार सम्मेलन गरेकोले आफू शुरुमा सशंकित भएको शेल्केले बताए।

'परिवर्तित तस्वीर'

सगरमाथा माथि खिचेको भन्दै ती जोडीले देखाएको तस्वीर फोटोशप गरेर परिवर्तन गरेको पनि उनले आरोप लगाए।

तर उनीहरुको आरोहणको संयोजन गरेको संस्था मकालु एड्भेन्चरका प्रमुखले उनीहरुले सगरमाथा चढेकोमा कुनै शंका नभएको बताएका छन्।

उक्त कम्पनीको वेबसाईटमा पनि सो जोडीको सगरमाथामा खिचिएको भनिएको तस्वीर राखिएको छ।

सगरमाथाबाट झर्दै गर्दा श्रीमती राठोडलाई निमोनिया भएपछि आधार शिवरबाट हेलिकप्टर मार्फत उद्धार गरिएको र उनी एक हप्ता अस्पतालमा बसेकाले ढिलो पत्रकार सम्मेलन गरिएको मोहन लम्सालले बीबीसीलाई बताए।

भारतका केही पर्वतारोहीले गुनासो गरेपछि नेपाली अधिकारीहरुले सो जोडीको अन्तर्वार्ता र अनुसन्धान गरेको र त्यसपछि मात्रै उनीहरुलाई प्रमाणपत्र दिएको लम्सालले बताएका छन्।