भारी वर्षापछि विपद् सतर्कता ‘उच्च’

  • 2 जुलाई 2016
तस्वीर कपीराइट AP

मनसुनी वर्षा सक्रिय हुँदै गर्दा सम्भावित बाढी र पहिरोको प्रकोपलाई ध्यानमा राखेर उद्धार र राहतका लागि स्थानीय प्रशासन र तीनवटै सुरक्षा निकायहरुलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ।

उद्धारका लागि आवश्यक पर्न सक्ने हेलिकोप्टर र तयारी खानाको समेत व्यवस्था मिलाइएको बताइएको छ।

जोखिम क्षेत्रमा रहेका मानिसहरुलाई अस्थायी वासस्थानहरुमा सार्ने तयारी समेत भइरहेको अधिकारीहरुको भनाई छ।

गत २ दिनमा बाढी पहिरोमा परेर देशभर ६ जनाको ज्यान गइसकेको र २० जना घाईते भएको गृह प्रशासनले जनाएको छ।

तयारी

बिहीबारदेखि देशव्यापी वर्षा भइरहंदा जनधनको क्षतिभएका समाचारहरु आइरहेका छन्।

लगातारको वर्षाका कारण कतिपय क्षेत्रमा पहिरो गएर बस्तीहरु जोखिममा रहेको सबैजसो नदी प्रणालीमा जलस्तर बढेका बताइएको छ।

विगतमा वर्षहरुमा पनि वर्षा मौसमका बेला बाढी र पहिरोका कारण जनधनको क्षति हुने गरेको विषयलाई ध्यानमा राखेर सरकारले उद्धारको व्यवस्था मिलाएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताए।

उनले भने "तीनवटै सुरक्षा निकायलाई जतिबेला पनि उद्धारमा सहभागी हुनका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामानसहित तयारी अवस्थामा रहन निर्देशन दिइए बमोजिम सबै जिल्लामा तयारी भएको छ।"

नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरहरुलाई तयारी अवस्थामा राखिएको बताइएको छ।

उद्धार पछि तत्कालै आवश्यक पर्ने खाध्य सामाग्रीहरु जस्तै बिस्कुट, चाउचाउ, चिउरा, पानीका साथै त्रिपालहरु तयारी अवस्थामा राखिएको उनको भनाई छ।

ढिलाई

भूकम्प प्रभावित क्षेत्रमा जोखिममा रहेका बस्तीका मानिसहरुलाई हाल निर्माण गरिएका अस्थायी शिविरमा राख्ने प्रवन्ध गरिएको प्रवक्ता कोइरालाले बताए।

उनले भने "हामी तयारी अवस्थामा छौं र हालै विभिन्न जिल्लामा बनाएका अस्थाई बासास्थान उनीहरुलाई ल्याउन सक्ने अवस्थामा छौं।"

विभिन्न नदीहरुमा पानीको बहाव बढेमा त्यसले तल्लो तटीय क्षेत्रमा हुन सक्ने खतराहरुलाई आंकलन गर्ने काम भैरहेको र सोही अनुसार पूर्व सूचना प्रणालीमार्फत जोखिममा पर्न सक्ने वस्तीमा सुचना पुर्याउने व्यवस्था मिलाइएको बताइएको छ।

जिल्ला दैवी प्रकोप उद्धार समितिहरुलाई अत्यन्त चनाखो अवस्थामा राखिएको र राहत उद्दारमा सघाउ पुर्याउनका लागि सम्पूर्ण जिल्लामा रहेका कार्यालय प्रमुखहरुलाई विदामा नजान निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।

विगतमा वर्षहरुमा पनि यसरी नै सरकारी तयारी रहेको बताउने गरिएपनि समयमा उद्धार हुन नसकेको र उद्धार पछि पनि तत्कालीन आवासको व्यवस्था मिलाउने काममा ढिलाइ हुने गरेको अनुभव विपद् पीडितहरुको छ।