इराकमा तीनदिने राष्ट्रिय शोकको घोषणा

  • 4 जुलाई 2016
तस्वीर कपीराइट Reuters
Image caption यो विस्फोट इराकमा यो वर्ष गराइएका सबैभन्दा विध्वंसात्मक आक्रमण भएको बताइएको छ

कम्तीमा ११९ जनाको ज्यान जानेगरी राजधानी बाग्दादमा गराइएको बम हमलापछि इराकमा तीनदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ।

उक्त हमलाका करिब १५० जना घाइते भएका छन्।

प्रधानमन्त्री हैदर अल अबादीले आइतबार नै शिया बहुल उक्त क्षेत्रको निरीक्षण गरेका थिए तर आक्रोशित भीडले उनको टोलीविरुद्ध नाराबाजी गरेको थियो।

पछि प्रधानमन्त्रीको कार्यालयले स्थानीय बासिन्दाको आक्रोशलाई प्रधानमन्त्रीले महसुस गरेको भन्दै तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको थियो।

विस्फोट

एक महिने व्रत बसिने रमजान महिना सकिन लागेको विदाको समयमा मानिसहरुले किनमेल गरिरहेका बेला करादा जिल्लामा विस्फोटक पदार्थले भरिएको एउटा गाडी विस्फोट गराइएको थियो।

उद्धारकर्ताहरुका अनुसार किनमेल गरिरहेका सबै परिवार आक्रमणको चपेटामा परेका थिए र कतिपय पीडितहरु पहिचान गर्न नसक्ने गरी जलेका थिए।

तथाकथित इस्लामिक स्टेट समूहले आत्मघाती बम आक्रमण गराएको बताएको छ।

पराजय

आइतबार, साँझ परिसकेपछिसम्म पनि कामदारहरुको समूहले भग्नावशेषहरु हटाइरहेको देखिन्थ्यो।

बीबीसीका मध्यपूर्व मामिला सम्पादक जेरेमी बोवेन भन्छन्,‍ “इराकी फौजले गतसाता फल्लुजा शहरलाई इस्लामिक स्टेट समूहको कब्जाबाट पुनः नियन्त्रणमा लिएको थियो जुन आइएसको बलियो पकड भएको स्थानदेखि गाडीबाट एकघण्टा भन्दा कम समयमा पुग्न सकिने दूरीमा छ। नियन्त्रण गुमाउनु उनीहरुको ठूलो पराजय थियो। त्यसकारण उनीहरुले आफूहरु राजधानीको मुटुमै ठूलो क्षति पुर्याउने गरी आक्रमण गर्न सक्षम रहेको देखाउने रुपमा यो हमला गरेको हुनुपर्छ।”

विस्फोटक पदार्थले भरिएको एउटा रेफ्रिजेरेटर भ्यानलाई लोकप्रिय अल-हादी सेन्टरमा विस्फोट गराइएको रिपोर्टहरुमा जनाइएको छ।