कांग्रेस महामन्त्री कोइराला ‘अझै गम्भीर’

  • 6 जुलाई 2016
shashank तस्वीर कपीराइट .
Image caption अचानक पेटमा समस्या महसुस भएपछि कोइरालालाई मंगलबार राती अस्पताल पु-याइएको थियो

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

मंगलबार राती अचानक पेटमा अप्ठ्यारो महसुस भएपछि उनलाई राजधानीस्थित ओम अस्पताल पुर्याइएको थियो।

नाजुक

त्यसपछि चिकित्सकहरुको निगरानीमा त्यहां राखिएका कोइरालाको स्वास्थ्य अवस्था बुधबार बिहान एकाएक नाजुक बनेको बताइएको छ।

उपचारका लागि ओम अस्पताल र राजधानीका अन्य प्रमुख अस्पतालका १५ जना चिकित्सकहरुको समूह बनाइएको जनाइएको छ।

उक्त समूहका एकजना सदस्य एवं ओम अस्पतालको सघन उपचार कक्ष ‘आइसीयु’ मा कार्यरत डा. लवनरसिंह जोशीका अनुसार कोइरालालाई अहिले पनि कृत्रिम श्वासप्रश्वास प्रणाली ‘भेन्टिलेटर’मा राखिएको छ।

उनले भने, “रक्तचाप बढाउने औषधि दिएर राखिएको छ। १००/९० मा रक्तचाप स्थिर बनेको छ। दुखाइमा उहांले प्रतिक्रिया देखाए पनि समग्रमा उहांको अवस्था अत्यन्तै गम्भीर छ”।

उनका अनुसार मूलत: फोक्सोमा समस्या छ र त्यसका कारण अन्य अंगहरुमा पनि असर परेको छ।

उनले भने, “ मल्टीअर्गन डिस्फक्सन अर्थात एकैपटक धेरै अंगले आफ्नो काम ठीक ढंगले नगर्ने समस्या देखिएको छ। अहिले नै स्वास्थ्य अवस्थाबारे कुनै ठोस निचोडमा पुग्न सकिने अवस्था छैन”।

खबर

कोइराला बिरामी भएको खबर पाएलगत्तै उनका शुभेच्छुक, पार्टी नेता तथा कार्यकर्ता अस्पताल पुगेका थिए।

प्रधानमन्त्री केपी ओलीले पनि अस्पताल पुगेर कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

कोइरालालाई एयर एम्बुलेन्सबाट दिल्ली लैजाने वा नलैजाने भन्नेबारे टुंगो लागि नसकेको बताइएको छ।

ओम अस्पतालका चिकित्सक जोशीले कोइरालालाई अस्पतालबाट विमानस्थलसम्म पनि लैजान सकिने अवस्था नरहेको बताए।

तर आवश्यक परे भारतस्थित एपोलो अस्पतालका चिकित्सकहरुसंग सल्लाह गर्ने गरी उक्त अस्पतालसंग समन्वय गरिएको उनले जनाए।