चिलकट प्रतिवेदनपछि ‘अमेरिकालाई दोष’

  • 7 जुलाई 2016
तस्वीर कपीराइट PA

सन् २००३ मा भएको इराक युद्धका क्रममा उक्त निर्णय गर्ने ब्रिटेनका तत्कालीन उच्च अधिकारीहरुले युद्धपछि इराकमा उत्पन्न समस्याहरुको दोषी अमेरिकालाई लगाएका छन्।

बुधबार सार्वजनिक सर जन चिलकटले तयार पारेको ब्रिटिश प्रतिवेदनले उक्त युद्धको तयारी, युद्धका क्रममा प्रस्तुत व्यवहार र युद्धपछिका गतिविधिको चर्को आलोचना गरेको थियो।

उक्त प्रतिवेदनपछि तत्कालिन प्रधानमन्त्री टोनी ब्लेयरले कडा शब्दमा इराक युद्धको बचाउ गरेका छन्।

तर युद्ध योजनामा संलग्न सबैभन्दा वरिष्ठ अधिकारी जनरल टिम क्रसले भनेका छन्, अमेरिकाले इराकी सेना र बाथ पार्टीलाई ब्रिटेनसँग सल्लाह नै नगरि विघटन गरिदिएको थियो।

दोष

राष्ट्रसंघका लागि त्यसबेलाका ब्रिटिश राजदूत जेरेमी ग्रीनस्टकले भनेका छन्, अमेरिकाले ब्रिटेनलाई एकदमै चाँडो सैन्य कारबाही तर्फ धकेलेको थियो।

उनले राष्ट्रसंघीय निरिक्षकहरुलाई इराकमा रहेको भनिएको रासायनिक तथा जैविक हतियारको निरिक्षणका लागि थप समय दिइनुपर्ने बताएका छन्।

त्यस्तै टोनी ब्लेयरका तत्कालीन संचार प्रमुख एलिस्टर क्याम्पबेलले अमेरिकाले इराकमा युद्धपछि गर्नुपर्ने कामहरुलाई वेवास्ता गरेको टिप्पणी गरेका छन्।

त्यस्तै चिलकटको प्रतिवेदनमा प्रतिक्रिया जनाउँदै अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता जन किर्बीले भनेका छन्, यसबारे अमेरिकाले होइन ब्रिटेन आफैँले जवाफ दिनुपर्छ।

उनले भनेका छन्, अमेरिका १३ वर्ष अघि गरेको निर्णयमा नभइ अहिलेको इराको अवस्था र इस्लामिक स्टेटविरुद्ध लड्न केन्द्रित छ।

यसअघि अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसका प्रवक्ताले भनेका थिए, गुप्तचर संस्थाको विफलता र अन्य गल्तीलाई उनले पहिल्यै स्वीकारी सकेका छन्।

इराकी नेता सद्दाम हुसेन बिना विश्व धेरै राम्रो भएको विश्वास बुसले निरन्तर गरिरहेको पनि उनका प्रवक्ताले बताएका छन्।

क्षमा

तस्वीर कपीराइट

चिलकटकै प्रतिवेदनपछि ब्रिटेनका तत्कालिन प्रधानमन्त्री टोनी ब्लेयरले पनि आफूलाई त्यतिबेला जे ठीक लागेको त्यही गरेको बताए।

ब्लेयरले त्यतिबेला आफूले देशलाई नढाँटेको दाबी गर्दै उक्त युद्धका क्रममा मारिएका परिवारहरुप्रति क्षमा मागे।

सन् २००३ को इराक युद्धबारे भएको आधिकारिक अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएपछि ब्लेयरको त्यतिबेलाको निर्णयलाई लिएर आलोचनाहरु भइरहेका छन्।

उक्त प्रतिवेदनले ब्रिटेन सरकारले, त्यतिबेला सद्दाम हुसेनले दिएको धम्कीलाई चाहिने भन्दा बढी ठूलो देखाइएको र त्यसविरुद्ध लड्नका लागि तयार भइ नसकेका फौजहरुलाई पठाएको औल्याएको छ।

प्रतिवेदले गुप्तचर निकायले दिएका विवरणहरु पनि तर्कसंगत नभएको र युद्धपछिको योजनाको तयारी पनि एकदमै फितलो रहेको देखाएको छ।