अमेरिकी शहरहरुमा विरोध प्रदर्शन

  • 10 जुलाई 2016
तस्वीर कपीराइट AP

अमेरिकी राज्य लुइजियानामा प्रहरीले ब्ल्याक लाईभ्स म्याटर नामक अश्वेतहरुको अधिकारको पक्षमा लागिपरेको अभियानका एक अग्रणी अधिकारकर्मीलाई पक्राउ गरेको छ।

ब्याटन रुज शहरमा हालै प्रहरीले एक अश्वेत पुरुषको हत्या गरेको भन्दै प्रहरी मुख्यालय अगाडी भएको प्रदर्शनबाट डि रे म्याककेसनलाई पक्राउ गरिएको हो।

प्रदर्शनकारीहरुलाई प्रहरीले बारम्बार सडकमा नआउन नत्र पक्रने चेतावनी दिएको थियो।

अन्यत्र प्रदर्शन

हालसालै मिनेसोटा तथा लुइजियाना राज्यहरुमा अश्वेत पुरुषहरु प्रहरीको हातबाट मारिएका घटना विरुद्ध अमेरिकी शहरहरु विरोध प्रदर्शनका क्रम जारी छन्।

मिनेसोटाका सडकहरुमा अवरोध खडा गरिएका तथा प्रदर्शनकारीहरुले पटाखा पड्काएका, बोतल र ढुङ्गा प्रहार गरेका छन्।

त्यस्तै लुइजियानाको ब्याटन रुजमा न्यू ब्ल्याक प्यान्थर्स पार्टीका सशस्त्र कार्यकर्ताले प्रहरीसंग भींडेका थिए।

दर्जनौं प्रदर्शनकारी पक्राउ परेका छन् तर अधिकांश र्याली शान्तिपूर्वक रहेका थिए।

केही दिन अगाडि पाँच प्रहरीको हत्या गरिएको ड्यालस शहरमा पनि तनाव कायम रह्यो।

लुइजियानाको ब्याटन रुज शहरमा चाहीं प्रहरी विभागका सामु सयौं प्रदर्शनकारी भेला भएर विना न्याय शान्ति नहुने भन्दै नाराबाजी गरेका थिए।

आक्रोश

ब्याटन रुजस्थित बीबीसीकी लउरा बीकर भन्छिन् यो त्यहाँ विरोध प्रदर्शन भएको लगातार पाँचौं रात हो। र, त्यहाँका मानिसमा केवल सामान्य रिसमात्र होइन आक्रोश छ।

प्रत्येक रात प्रदर्शनकारीहरुको संख्या बढ्दै गएको उनी बताउँछिन्।

राष्ट्रपति बराक ओबामाले तनाव कम गराउन प्रयत्न गरेपनि विरोध प्रदर्शन जारी छन्।

यूरोपमा भ्रमणमा रहेका उनले यो साता पीडादायी रहेको भएपनि कतिपयले चर्चा गरेजस्तो अमेरिका विभाजित भने नरहेकोप्रति आफु दृढ विश्वस्त भएको बताए।