‘सरकारमा प्रचण्डको नेतृत्व अस्वीकार्य’

  • 11 जुलाई 2016
oli तस्वीर कपीराइट PTI
Image caption प्रचण्डले प्रधानमन्त्री ओलीलाई आइतबार भेटेर सहमतीय सरकारमा आफूलाई सघाउन आग्रह गरेको बताइएको छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि गरेको प्रस्ताव अस्वीकार गरेको उक्त दलका नेताहरुले बताएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् सत्तासहयात्री एमालेका अध्यक्ष केपी ओलीसंग सोमबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको बताइएको छ।

प्रमुख दलहरुले आफूहरु सहमतीय सरकारको पक्षमा रहेको बताउने गरेका छन्, तर उनीहरु एकअर्काको नेतृत्वलाई नस्वीकार्ने अडानमा देखिन्छ।

तीव्रता

सहमतीय सरकारका लागि पहल गर्ने औपचारिक पार्टी निर्णयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता तीव्र बनाएका हुन्।

कांग्रेस र एमाले एकअर्कालाई सहमतीय सरकारको नेतृत्वमा स्वीकार नगर्ने मनस्थितिमा देखिएका बेला प्रचण्डले आफूलाई दुवै पक्षका लागि मान्य हुन सक्ने विकल्पको रुपमा प्रस्तुत गरिरहेको बुझाइ कतिपयमा देखिन्छ।

तर न त सत्तासहयात्री एमाले न कांग्रेस नै माओवादी केन्द्रको नेतृत्व स्वीकार गर्ने पक्षमा देखिन्छन्।

कांग्रेस सभापति देउवाले सोमबार भएको भेटमा प्रचण्डलाई दिएको जवाफबारे देउवानिकट नेता प्रकाशशरण महतले भने, “राष्ट्रिय सहमतिको सरकारमा समर्थन गर्न प्रधानमन्त्री ओलीले पनि हामीलाई भन्नुभएको छ। प्रचण्डजीले पनि त्यस्तै समर्थनका लागि भन्नुभयो। देउवाजीले प्रधानमन्त्रीलाई जस्तै माओवादी केन्द्रलाई पनि समर्थन गर्न सकिंदैन भन्नुभयो”।

गत बैशाख अन्तिम साता प्रचण्डले कांग्रेसको साथ लिएर नयां सरकार बनाउने योजनाबाट अन्तिम समयमा हात झिकिदिएपछि उनीप्रति प्रमुख प्रतिपक्षी अहिले पनि संशकित देखिन्छ।

प्रचण्डलाई समर्थन नगर्ने भन्ने देउवाको सीधा जवाफमा त्यही आशंकाको छाया देख्नेहरुको कमी छैन।

शर्त

कांग्रेसले वैकल्पिक सरकारबारे विचार गर्ने प्रस्ताव अस्वीकार गरेको छैन तर उसका केही शर्त देखिन्छन्।

कांग्रेस नेता प्रकाशशरण महतले भने, “ कि त प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्यो कि माओवादी केन्द्रले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्यो। अनि बल्ल कस्तो स्वरुपको सरकार गठन गर्ने भन्ने विषयमा छलफल गर्न सकिन्छ"।

तर एमाले वा माओवादी केन्द्र दुवैलाई त्यस्तो शर्त तत्काल मान्य हुने सम्भावना क्षीण रहेको जानकारहरु ठान्छन्।

त्यसो भयो भने यही गठवन्धनलाई निरन्तरता दिने वा कांग्रेससहितको अर्को बहुमतीय सरकार गठन गर्ने भन्ने विषयमा अबका केही दिन चर्को राजनीतिक मोलमोलाइ हुने अनुमान गरिएका छन्।

त्यसकै एउटा कडी प्रचण्ड र प्रधानमन्त्री ओलीबीच सोमबार सांझ भएको भेटवार्तालाई पनि मानिएको छ, तर उक्त संवादका विस्तृत विवरण भने बाहिर आउन बांकी नै छ।