'कु प्रयासपछि टर्कीको स्थिति नियन्त्रणमा'

  • 16 जुलाई 2016
तस्वीर कपीराइट AFP

टर्कीका प्रधानमन्त्री बिनाली यल्दरिमले सेनाको एउटा समूहले सत्ता हत्याउन गरेको प्रयासपछि 'मुलुकको स्थिति नियन्त्रणमै' रहेको दाबी गरेका छन्।

यद्यपि राजधानी अंकारास्थित संसद भवनमा थुप्रै विस्फोटका आवाजहरु सुनिएका छन्।

राज्य नियन्त्रित समाचार संस्थाका अनुसार अंकारास्थित विशेष सुरक्षा बलको मुख्यालयमा १७ जना प्रहरी मारिएका छन्।

अंकारा र इस्तानबुलका सडकहरुमा मानिसहरुको भीड देखिएको छ।

नियन्त्रण

आफूले टर्कीको सेनाको प्रतिनिधित्व गर्ने बताउने एउटा समूहले विज्ञप्तिमा भनेको छ, प्रजातान्त्रिक व्यवस्था जोगाउनका लागि सत्ता हातमा लिएको छ।

सो समूहले 'देश एउटा शान्ति परिषद्बाट चल्ने र त्यसले सुरक्षाको प्रत्याभूति गर्नुका साथै यथासक्दो चाँडो नयाँ संविधान बनाउने' बताएको छ।

टर्कीको टेलिभिजनका अनुसार सेनाका प्रमुख जेनरल हुलुसी अकारसहित सेनाका वरिष्ठ अधिकारीहरु अंकारास्थित सेनाको मुख्यालयमा बन्धक बनाइएका छन्।

टर्कीका सरकारी सञ्चारमाध्यमहरुको प्रसारण रोकिएको छ।

तस्वीर कपीराइट Reuters

इन्टरनेट अनुगमन गर्ने समूहहरुले भनेका छन्, फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाइएको छ।

प्रतिबन्ध कसले लगाएको भन्ने पुष्टि भएको छैन।

आह्वान

राष्ट्रपति रिजेप तय्यीप एर्दोआन छुट्टिमा रहेका बेला कु को प्रयास भएको थियो।

उनी घटनापछि इस्तानबुल फर्किएका छन्।

टेलिभिजनमा अन्तर्वार्ताको क्रममा उनले प्रजातन्त्रलाई समर्थन गर्नका लागि मानिसहरुलाई प्रदर्शनमा उत्रन आह्वान गरेका छन्।

राष्ट्रपति एर्दोआनले भनेका छन्, "सुरक्षा फौजभित्रको एउटा सानो समूहले कु को प्रयास गरेका हो र उनीहरु सफल हुँदैनन्।"

अमेरिकी राष्ट्रपति बराक ओबामाले टर्कीका सबै पार्टीलाई प्रजातान्त्रिक रुपमा निर्वाचित सरकारलाई समर्थन गर्न आग्रह गरेका छन्।

अमेरिकी विदेशमन्त्री जन केरीले टर्कीको शान्ति र स्थिरताका लागि आफूले आशा गरिरहेको बताएका छन्।

उडान रद्द

तस्वीर कपीराइट AP

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, यसमा रुसले चासो राखेको छ र टर्की स्थिरता र व्यवस्थामा फर्किएको रुसले हेर्न चाहेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले शान्त रहन सबैलाई आह्वान गरेका छन् भने युरोपेली संघका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीले संयम हुन र प्रजातान्त्रिक व्यवस्थाको सम्मान गर्न भनेकी छन्।

इस्तानबुल र अंकाराका विमानस्थलहरु बन्द भएका छन्।

इस्तानबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडानहरु रद्द गरिएका छन्।