टर्की: सेनाद्वारा सत्ता हत्याउने प्रयास जारी

  • 16 जुलाई 2016
तस्वीर कपीराइट Reuters

टर्कीमा अहिले कु अर्थात सत्ता हत्याउने प्रयास भइरहेको बताइएको छ।

सेनाको एउटा समूहले राष्ट्रिय टेलिभिजनमा प्रसारण गरेको एउटा विज्ञप्तिमा भनिएको छ, मुलुक अहिले सेनाको नियन्त्रणमा छ।

राजधानी अंकारामा विस्फोटहरु सुनिएको छ र बख्तरबन्द गाडीहरु संसदबाहिर तैनाथ गरिएको छ।

केही रिपोर्टहरुका अनुसार सैन्य हेलिकप्टरले देशको राष्ट्रिय टेलिभिजनको भवनमा गोलाबारी गरेको छ।

गोलाबारी

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको बोसफोरस नदीको पुलमा गोलाबारी सुनिएको छ।

मानिसहरुको भीड सडकमा देखिएको छ र तीमध्ये केही अवज्ञा स्वरुप बख्तरबन्द गाडीहरुमाथि उफ्रिरहेको देखिन्छ।

सेनाको गाडीले इस्तानबुल र अंकाराको विमानस्थलहरु बन्द गरेका छन्।

इस्तानबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडानहरु रद्द गरिएका छन्। छुट्टीमा रहेका राष्ट्रपति रिजेप तय्यीप एर्दोआनले इस्तानबुल फर्किन लागेको र कु विफल हुने बताएका छन्।