एमाले-माओवादी केन्द्र टकराव बढ्दो

  • 15 जुलाई 2016
तस्वीर कपीराइट parliament nepal
Image caption सभामुख ओनसरी घर्तीले परम्परा पछ्याएको भन्दै आफ्नो कदमको बचाउ गरेकी छन्

सरकार परिवर्तनको प्रयासपछि दुई पूर्वसत्ता सहयात्री नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच टकराव बढ्दै गएको देखिएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्।

संसद बैठकबारे सभामुखको एउटा निर्णयप्रति एमालेले व्यक्त गरेको आक्रोशले टकराव संसदमा पनि प्रवेश गर्नसक्ने आशंका बढेको छ।

षड्यन्त्र

प्रधानमन्त्रीको राजीनामा चाहिरहेका दलकोनिम्ति अप्रिय लाग्ने गरी मन्त्रिपरिषद्ले अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरेको छ।

अलि बढी अप्रिय सम्भवत: ओलीलाई विस्थापित गर्ने जमर्को गरेका प्रचण्डलाई लाग्यो र उनले आफ्नो निवासमा पत्रकार सामू ओलीको तीव्र आलोचना गरे।

समाचारहरुमा जनाइए अनुसार प्रधानमन्त्री ओलीमाथि प्रचण्डले 'सत्ता लम्ब्याउन षडयन्त्र गर्न थालेको' आरोप लगाए।

सार्वजनिक विवाद देखिन थालेका बेला बजेट सम्बन्धी विधेयकको साटो अविश्वास प्रस्तावबारे छलफल गराउने सभामुख ओनसरी घर्तीको निर्णय आएको छ।

पूर्वसहमति अवज्ञा गरेको आरोप लगाउँदै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले चेतावनी शैलीमा भने, "सहमतिभन्दा फरक ढंगले जाने निर्णयले अनावश्यक टकराव ल्याउँछ र त्यसले संसद र मुलुकलाई राम्रो गर्दैन।"

बचाउ

विधेयक सम्बन्धी पूर्वनिर्धारित छलफल सूचना टाँसेर स्थगित गरेकी सभामुखले अविश्वास प्रस्तावबारे छलफल गर्ने गरी अब साउन ६ गते बैठक राखेकी छन्।

आफ्नो निर्णय विवादमा तानिने सम्भावना देखेर हुनसक्छ, सभामुख घर्तीले आफ्नो निर्णयको बचाउ गरेकी छन्।

उनले भनिन्, "अहिलेको परिस्थितिमा के गर्ने भन्नेबारे संविधान र कानुनमा प्रष्ट उल्लेख नभएकाले परम्परा हेरेर निर्णय लिएकी हुँ, मैले कसैलाई काखा पाखा गर्दिन।"

दुई दलबीच विवाद चुलिँदै गएका बेला नेपाली कांग्रेसले सतर्कतापूर्ण प्रतिक्रिया दिएको छ।

दलहरुबीच कुरा नमिलेका बेला निर्णय लिने सभामुखको विशेषाधिकार भएको उल्लेख गर्दै पूर्वसभामुख नेता रामचन्द्र पौडेलले भने, "सभामुखको विशेषाधिकारलाई चुनौती दिने हदसम्म पुग्नु परेको छैन।"

कारण

संविधानको संक्रमणकालीन व्यवस्थामा नयाँ सरकार गठनको प्रावधान छैन।

त्यसैले दलहरुबीचको विवादका माझ त्यो पनि राजनीतिक र संवैधानिक संकटकोनिम्ति कारण बन्ने कतिपयको आशंका छ।

त्यसमाथि सत्ता परिवर्तनको प्रयासको पृष्ठभूमिमा दुई छिमेकीको भूमिकाले चर्चा पाउनु र एमालेकी पूर्वनेतृ राष्ट्रप्रमुख तथा माओवादी केन्द्रकी पूर्वनेतृ संसद प्रमुख भएकाले राजनीतिक टकरावको आकारप्रति धेरैको चासो बढेको पाइन्छ।