परिवारको ‘ईज्जतका निम्ति’ मोडलको हत्या

  • 16 जुलाई 2016

पाकिस्तानको पञ्जाब प्रान्तमा सामाजिक सञ्जालमा लोकप्रिय एकजना विवादास्पद मोडलको हत्या भएको छ।

आफ्नै भाइले परिवारलाई कलंकबाट बचाउन भन्दै घाँटी थिचेर मारेको प्रहरीको आशंका छ।

छब्बीस वर्षीया कन्दील बलोचले आफ्ना विवादास्पद तस्विर सामाजिक सञ्जालमा राख्ने गर्दथिन्।

परिवालाई कलंकित बनाएको आरोपमा पाकिस्तानमा वर्षेनी सयौं महिलाको हत्या भईरहन्छ।

विवाद

कहिले साहसी र कहिले अश्लील देखिने तस्विर, भिडियो र अभिव्यक्ति सामाजिक सञ्जालमा राखेका कारण मोडल बलोच घरघरमा परिचित थिईन्।

दाजुसंग वादविवाद भएपछि उनलाई शुक्रबार राति घाँटी थिचेर मारिएको बलोचका बाबुआमाले द एक्स्प्रेस ट्रिब्युन समाचारपत्रलाई बताएका छन्।

उनको शरीर शनिबार बिहान मात्रै भेटिएको बताएका बलोचका बाबुआमालाई गिरफ्तार गरिएको एक्स्प्रेस ट्रिब्युनले उल्लेख गरेको छ।

सुरक्षामा खतरा भएपछि बलोच कराँचीबाट पञ्जाब गएको प्रहरीले बताएको छ।

'असन्तुष्ट'

उनलाई उनका परिवारजनले मोडलिङ पेशा छोड्न भनेको पारिवारिक श्रोतले ट्रिब्युनलाई बताएको छ।

तस्वीर कपीराइट .
Image caption एक प्रसिद्ध धर्मगुरुसंगको तस्विर सामाजिक सञ्जालमा राखेपछि कन्दील चर्चित बनेकी थिइन भने धर्मगुरुको प्रतिष्ठामा आँच पुगेको थियो

बलोचले सामाजिक सञ्जालमा विवादास्पद तस्विर राख्ने गरेको कुरा उनका भाइ वसीमलाई मन नपरेको र उनले बलोचलाई धम्क्याएको एक्स्प्रेस ट्रिब्युनमा उद्धृत श्रोतको भनाई छ।

उनलाई अहिलेसम्म गिरफ्तार नगरिएको प्रहरीले जनाएको छ।

बीबीसीकी दक्षिण एशिया सम्पादक जिल म्याकगिभरिङ भन्छिन, बलोचले नाम कमाउनका लागि सामाजिक सञ्जालको प्रयोग गरिन् र त्यहाँ देखिने प्रतिक्रियामा प्रशंसा र घृणा भाव देखिन्थे।

केहीले उनको मृत्युलाई राम्रो खबर भन्दै उनका सन्दिग्ध हत्याराको प्रशंसा पनि गरेका छन्। केहीले बलोच केही कुरामा गलत भएको भएतापनि उनको हत्यालाई समर्थन गर्न नहुने बताएका छन्।

नारी सशक्तिकरण

पाकिस्तानमा महिला र खासगरी विपन्न महिला अझै पनि शिक्षा र स्वेच्छिक विवाह जस्ता आधारभूत अधिकारबाट वञ्चित छन् र उनीहरुमाथि हिंसा कायम छ।

हालसालैको एउटा अन्तर्वार्तामा बलोचले पाकिस्तानको पितृसत्तात्मक समाजको कडा आलोचना गर्दै आफुलाई नारी सशक्तिकरणको समर्थक भनेकी थिईन्।

युवा पुस्ताका धेरैले उनका उदार विचारको कदर गर्दथे भने ईन्टरनेटमा थुप्रैले गाली पनि गर्दथे।

तीन हप्ताअघि उनले आन्तरिक मामिला मन्त्री र उच्च अधिकारीहरुसंग सुरक्षाका लागि अनुरोध गरेपनि त्यसको बेवास्ता गरिएको डन समाचार संस्थाले जनाएको छ।