टर्की कू प्रयत्न: करिब ६ हजार गिरफ्तार

  • 17 जुलाई 2016
तस्वीर कपीराइट AFP
Image caption टर्कीमा विफल कूमा लागेका भनेर हजारौं हजार गिरफ्तार गरिएको छ

टर्कीमा शुक्रबारको विफल कू प्रयत्न सन्दर्भमा करिब ६ हजारलाई गिरफ्तार गरिएको कानुनमन्त्री बेकिर बोज्डाले बताएका छन्।

त्यसमा उच्चपदस्थ सैनिक अधिकारी लगायत २७ सय न्यायाधीशहरु छन्।

शनिबार पश्चिमी प्रान्त डेनिज्लीमा ५० भन्दा बढी वरिष्ठ अधिकारीहरु पक्राउ परेका थिए।

कानुनमन्त्री बोज्डाले गिरफ्तारीलाई ‘सफाइ कारवाही’ भने।

मृत्युदण्ड 'प्रस्ताव गर्ने'

तस्वीर कपीराइट AP
Image caption राष्ट्रपति एर्दोआनले कू गर्नेहरुले महँगो मूल्य चुकाउनेपर्ने बताएका छन्

विफल कूका बेला भएको झडपमा कम्तीमा २६५ जना मारिएका बताइएको छ।

राष्ट्रपति रेसेप तय्यीप एर्दोआनले संसदमा मृत्युदण्डको प्रावधान राख्नेसहितको प्रस्ताव लग्न लागिएको बताए।

एर्दोआनले अमेरिकामा बस्ने टर्कीका धर्मगुरु फेतुल्लाह गुलेनलाई कूको योजनाकार रहेको भन्दै दोष लगाएका छन्, जुन गुलेनले अस्वीकार गर्छन्।

उनी भन्छन्, "रणनीतिक साझेदारका रुपमा अमेरिकाले त्यहाँको पेन्सलभेनियामा रहेको उक्त व्यक्तिलाई टर्की समक्ष सुपुर्दगी गर्नुपर्छ। हामी दृढ रहिरहनेछौं। हामी झुक्ने छैनौं। हामी अन्त्यसम्म पुग्नेछौं।"

तर अमेरिकी विदेश मन्त्री जन केरीले सुपुर्दगी गर्नु अघि टर्कीले आफुहरुलाई बैधानिक प्रमाण दिनुपर्ने बताएका छन्।

"भगवानको उपहार"

एर्दोआनले कूलाई भगवानको उपहार भने।

त्यसको कारण खुलाउँदै उनी भन्छन्, “किनभने त्यसले हामीलाई हाम्रो सेना सफाइ गर्ने मौका दिएको छ।”

उनले "कू गर्नेहरुले महँगो मूल्य चुकाउनुपर्ने" बताए।

गिरफ्तार हुनेमा थर्ड आर्मीका जनरल, सेकेण्ड आर्मीका कमाण्डर र टर्की हवाइ सेनाका पूर्व प्रमुख पनि छन्।

टर्कीका बरिष्ठ न्यायाधीशहरुमध्ये एक अल्परस्लान अल्टानलाई पनि गिरफ्तार गरिएको छ।