'सर्वोत्तम गणित शिक्षण विधि': शांघाई प्रणाली

  • 18 जुलाई 2016

भ्यालेरिया पेरास्सो,

सामाजिक मामिला संवाददाता, बीबीसी

तस्वीर कपीराइट AFP Getty Images

चीनको सबैभन्दा धेरै जनसंख्या भएको शहरमा प्रचलित गणित शिक्षण विधिलाई युरोपका विभिन्न विद्यालयहरुमा अपनाइंदैछ।

अन्तर्राष्ट्रियस्तरका परीक्षाहरुमा आफ्ना विद्यार्थीहरुको नतिजा सुधार गर्ने प्रयासमा त्यस्तो उपाय अनाइएको बताइन्छ।

यो विधिमा युरोपमा प्रचलित “बाल-केन्द्रित” शिक्षण पद्धतिभन्दा भिन्न “ बोर्डमा चकले लेखेर व्याख्या गरिने” र बारम्बार दोहोर्याएर पढाइने गरिन्छ।

शांघाईका गणित शिक्षकहरु आफ्नो पेशामा उत्कृष्ट मानिन्छन्।

तिनीहरुको यस्तो प्रतिष्ठा एकदमै प्रतिस्पर्धी अन्तर्राष्ट्रिय परीक्षाहरुमा सहभागी तिनका विद्यार्थीहरुले नियमित रुपमा गर्ने गरेका उत्कृष्ट प्रदर्शनका कारण बनेको हो।

निर्यात

तिनीहरुको शिक्षण विधि अब चीनको उक्त सबैभन्दा बढी जनसंख्या भएको शहरको एउटा उल्लेखनीय सांस्कृतिक निर्यात बनेको छ।

“शांघाई मास्टरी” भनिएको त्यस्तो गणित शिक्षण विधिलाई ब्रिटेनका आधाभन्दा बढी विद्यालयहरुले आफूले चाहेमा अवलम्बन गर्न पाउनेछन्।

शांघाई पद्धतिबाट गणित सिकेका प्राथमिक कक्षाका विद्यार्थीहरुको अप्रत्यासित रुपमा ठूलो संख्याले परीक्षामा राम्रो नतिजा ल्याउने गरेका छन्।

केही मापदण्डहरु अनुसार अन्य विकसित देशहरुका औसत विद्यार्थीहरुले तीन वर्ष पढेर पाएका ज्ञानको स्तर बराबर सांघाईका विद्यार्थीहरुको प्रदर्शन रहने गरेको छ।

शांघाईको त्यस्तो सफलताको रहस्य के हो त? त्यसको विशिष्ट सिद्धान्त र आलोचनाहरुमा एक नजर:

शांघाई गणित शिक्षा प्रणाली

६१३ अंक

पीसा गणित परीक्षामा शांघाई-चीनले प्राप्त गरेको अंक, विश्वमा उच्चतम

  • ११९ अंक परीक्षामा सहभागी सबै अर्थतन्त्र र देशहरुको औसतभन्दा बढी, जुन-

  • ३ बर्ष को थप विद्यालय शिक्षा बराबर हुन आउंछ

  • अध्ययन क्षमताको परीक्षामा पनि शांघाई-चीन को प्रदर्शन सबै अर्थतन्त्र भन्दा उत्कृष्ट छ

  • त्यसपछि उत्कृष्ट प्रदर्शनकर्ताहरुको सूचीमा सिंगापुर र हंगकंग-चीन पर्दछन्

AFP

शांघाई पद्धतिमा प्रत्येक पाठ एउटा मात्र गणितीय अवधारणामा आधारित हुने गर्छ- त्यो अंकगणितको आधारभूत जोड होस् या बीज गणितमा समीकरणको समाधान निकाल्ने होस् अथवा समग्रताको एकभागका रुपमा विभाजनलाई बुझ्ने विषय होस्।

त्यस्तो एकल अवधारणामा आधारित गणितीय पाठलाई एकदमै प्रक्रिया मिलाएर पढाउने गरिन्छ- शिक्षण प्रक्रिया यस्तो हुन्छ कि कक्षाका सबै विद्यार्थीले पाठ नबुझेसम्म अर्को विषय शुरु गरिंदैन।

शेफिल्ड ह्यालम विश्वविद्यालयका शिक्षा विज्ञ तथा “स्कूल्स वीक” पत्रिकामा लेखक मार्क बोएलन भन्छन्, “संसारका धेरै भागमा, सकेसम्म जति धेरै जानकारी प्रस्तुत गर्न सकियो त्यो राम्रो पाठ हो भन्ने धारणा पाइन्छ।“

“तर शांघाईमा के कुरामा जोड दिइन्छ भने एउटा पाठको विषयवस्तु सबै विद्यार्थीले पूर्ण रुपमा जानेको हुनुपर्छ। त्यसो भएमा उक्त पाठलाई भविष्यमा दोहोर्याएर पढाउनु नपरोस्‌,“ मार्क बोएलनको भन्छन्।

तस्वीर कपीराइट AFP Getty Images

गणितविज्ञहरु त्यस्तो शिक्षण प्रणालीलाई एकदमै परिश्रम पर्ने र चुनौतीपूर्ण ठान्छन्, जस अनुसार विद्यार्थीहरुलाई कक्षा बमोजिमका पाठ्यपुस्तकहरुबाट पढाइन्छ भने पाठ अनुसारका अभ्यासपुस्तिकाहरुको प्रयोग गरिंदैन।

यो पद्धतिमा गणितका अवधारणाहरु सिकाउनमा बढी जोड दिइन्छ। शिक्षकहरुले गणितका आधारभूत प्रयोगात्मक तरिका र नियमहरुमा आधारित भएर पाठ तयार पार्ने गर्छन्।

र जटिल अवधारणहरुलाई दृश्य माध्यमबाट बुझ्न विभिन्न आकारप्रकारका वस्तुहरु र चित्रहरुको पनि प्रयोग हुनेगर्छ।

तस्वीर कपीराइट AFP Getty Images

विज्ञहरु भन्छन् गणितका बारेमा विद्यार्थीहरुले बोल्ने र लेख्‍ने तरीकाले पनि तिनीहरुको सफलतामा योगदान दिने गर्छ।

“हामी सधैं विद्यार्थीहरुलाई, गणितका समस्याहरुको संक्षिप्त उत्तर मात्र भन्न होइन कि पूर्ण वाक्यहरुको प्रयोग गरेर गणितको उत्तरलाई व्याख्या गर्न भन्ने गर्छौं।

विद्यार्थीले सहि उत्तर कसरी थाहा भयो भन्ने समेत बताउनुपर्नेछ। गणितिय भाषा र तर्क क्षमता वृद्धि गर्न यो जरुरी छ।“

‘म्याथम्याटिक्स मास्टरी ‘ नामक एशियाली शिक्षण प्रणालीमा आधारित गणित प्रशिक्षण कार्यक्रमको परिचय खण्डमा त्यस्तो व्याख्या गरिएको छ।

तस्वीर कपीराइट AFP Getty Images

तर उक्त शिक्षण प्रणालीका आलोचकहरु सो प्रणाली जटिल भएको र त्यस्ले वास्तविक जीवनका पक्षहरुमा गणितको व्यवहारिक प्रयोगका बारे नसिकाउने बताउँछन्।

केहिको विश्वासमा त शांघाई शिक्षण विधि “परीक्षाका लागि मात्र पढाउने” जस्तो बन्न पुगेको छ।

अर्थात विद्यार्थीहरुलाई परीक्षामा राम्रो अंक ल्याउने गरी मात्र पढाउने गरिन्छ र तिनीहरुलाई दैनिक जीवनका कामहरु आफ्नो गणितीय ज्ञानको प्रयो गर्न‌ सिकाइंदैन।

शेफिल्ड ह्यालम विश्वविद्यालयले शांघाई गणित शिक्षण विधिको मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्दै भनेको छ, सो विधि अनुसार शिक्षकहरुले एक दिनमा चालिस मिनेट अवधिको दुईवटा कक्षा लिन पाउँछन्।

तस्वीर कपीराइट AFP Getty Images

र दिनको बाँकी समय एकअर्काको कामका सम्बन्धमा अन्तरक्रिया गर्ने जस्ता व्यक्तित्व विकासका गतिविधिमा लगाउने गर्छन्।

तर महत्वपूर्ण पक्ष के हो भने शांघाईमा गणित शिक्षक बन्न चाहनेले प्राथमिक कक्षामा गणित अध्यापनका प्रक्रियाबारे पाँच वर्षसम्म विश्वविद्यालयस्तरको पढाइ गर्ने गर्छन्।

एकजना शिक्षाविज्ञ जेम्स बोवेन भन्छन्, “ चीन र सिंगापुर जस्ता देशमा सो गणित शिक्षण प्रक्रियाको सफलताको एउटा कारण त्यहाँ शिक्षकहरुलाई गरिने सम्मानका साथै पाठको योजना बनाउन र तयारी गर्न तिनीहरुलाई प्राप्त समय पनि हो।“