लर्ड्सको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

  • 19 जुलाई 2016
दर्शकहरु
Image caption लण्डनमा आयोजित मैत्रीपूर्ण खेललाई हजारौं नेपाली दर्शकहरुले हेरेका थिए

विश्वप्रसिद्ध लर्ड्स मैदानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले ब्रिटेनको मार्लबोन क्रिकेट क्लबलाई ४१ रनले जितेको छ।

विश्वकै सबैभन्दा पुरानो ब्रिटेनको मार्लबोन क्रिकेट क्लब एमसीसीलाई नेपाली खेलाडीहरुले उसकै मैदानमा हराएका हुन्।

२१८ रनको लक्ष्य लिएर आएको एमसीसी ४७.२ ओभरमा १७६ रनमा अलआउट भएको थियो।

नेपालबाट सागर पुन र बसन्त रेग्मीले ३-३, सोमपाल कामीले २ तथा शक्ति गौचन र सन्दीप लामिछानेले १-१ विकेट लिएका थिए।

खुसी

जीतपछि बीबीसीसंग छोटो कुराकानी गर्दै नेपाली टोलीका कप्तान पारस खडकाले आफुहरु सबै अत्यन्त खुसी भएको बताए।

उनले नेपाली टोलीको हौसला बढाउन ठूलो संख्यामा उपस्थित नेपाली दर्शकहरुलाई हार्दिक धन्यवाद पनि दिए।

उनले लर्डसमा खेलेर आफुहरुले एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय मौका पाएको र एमसीसी विरुद्धको जीतबाट सांच्चिकै प्रोत्साहित भएको पनि बताए।

नेपाली टोलीले आउँदो महिना नेदरल्याण्ड्ससंग खेल्दैछ।

परिक्रमा

खेल जीतेपछि लर्ड्स क्रिकेट मैदानमा उपस्थित हजारौं नेपाली दर्शकहरुले खुसियाली मनाइरहँदा नेपाली टोलीले मैदान परिक्रमा गरेको थियो।

नेपालको राष्ट्रिय क्रिकेट टोली तथा ब्रिटेनको मार्लबोन क्रिकेट क्लबबीच लण्डनमा भएको मैत्रीपूर्ण खेल हजारौं नेपाली दर्शकहरुले हेरेका थिए।

मंगलबार बिहानै देखि चर्को घाम लागेकाले पनि खेल निकै रमाइलो वातावरणमा संपन्न भएको थियो।

नेपाली झण्डा बोकेका, नेपाल लेखिएको जर्सी लगाएका खासगरी नेपाली युवाहरु टाढा टाढाबाट खेल हेर्न भेला भएका थिए।

स्थानिय समय अनुसार बिहान साढे दशबजे मैदानलाई ढोगेर नेपाली खेलाडीहरु प्रवेश गर्दा त्यहाँ उपस्थित हजारौं दर्शकहरुले ताली पिटेर उनीहरुलाई भव्य स्वागत गरेका थिए।

उत्तरी लण्डनबाट खेल हेर्न आइपुगेकी एक दर्शक अङ्कीता बस्नेतले भनिन्, “निकै चाखलाग्दो खेल रह्यो। हाम्रो क्याप्टेन मैदानमा आउँदा सबैजना उत्साहित भयौं। निश्चय नै हाम्रो टोलीले राम्रो खेल खेल्यो।“

पूर्वी लण्डनबाट आफ्ना साथीहरुसंग खेल हेर्न आएका अर्का दर्शक समीर गुरुङले भने, “नेपाली टोलीका लागि यो राम्रो मौका हो। नेपाली खेलको उत्तरोत्तर प्रगति हुन्छ जस्तो लाग्छ। यो निकै ठूलो मौका मिलेको छ र हाम्रो टोलीले यसलाई निकै राम्रोसंग उपयोग गरिरहेको छ।”

नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्वपूर्ण योगदान पुराएको भनी प्रशंसा कमाएका पुबुदु दशानायके परामर्श प्रशिक्षकको रुपमा मंगलबार लर्ड्स मैदानमै थिए।

निर्णायक मोड

उनले भने, “अहिलेसम्म जसरी नेपाली खेलाडीहरुले खेलिरहेका छन् त्यसले राम्रो भविष्य देखाउँछ। मेरो विचारमा यो नेपाली क्रिकेटकालागि एउटा निर्णायक मोड पनि हो।“

ब्रिटेन नेपाल बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा उक्त खेल आयोजना गरिएको हो।

नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय प्रतिवन्धमा परेपछि छाँयामा परेको ठानिएका नेपाली क्रिकेट खेलाडीहरु लर्डसमा खेल्ने अवसर पाउने भएपछि जोडतोडका साथ तयारीमा लागेका थिए।

गत साता लण्डन आइपुगेपछि खेलेका चारैवटा मैत्रीपूर्ण खेल उनीहरुले जितेका थिए।