सदनमा ‘बलजफ्ती’ नगर्न चेतावनी

  • 20 जुलाई 2016
ओली
Image caption प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर देखाउन कांग्रेस र माओवादी केन्द्रलाई चुनौती समेत दिएका छन्

प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्धको अविश्वासको प्रस्तावलाई लिएर सदनमा 'बलजफ्ती' नगर्न चेतावनी दिएका छन्।

उनले दुई तिहाइ बहुमत भए संविधान संशोधन गरेर देखाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई चुनौती समेत दिएका छन्।

तर कांग्रेस र माओवादी केन्द्रका नेताहरुले अल्पमतमा परिसकेको सरकारले हठ त्याग्नुपर्ने प्रतिक्रिया दिएका छन्।

राजधानीमा बुधबार आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले कतिपय पक्षले मुलुकलाई द्वन्द्वतर्फ लैजान खोजिरहेको आरोप लगाए।

दुरुपयोग

देशभक्त र त्यसका विरोधीहरुबीच ध्रुवीकरण बढ्दै गएको भन्दै उनले मर्यादित संस्थाको दुरुपयोग गर्न लागिएको बताए।

सरकार गठनअघि कानुनी जटिलता हटाउनुपर्ने नेकपा एमालेले निर्णय गरिसकेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले कसैको हठ स्वीकार्य नहुने चेतावनी दिए।

उनले भने, “आधारभूत नियम कानुन अन्तर्गत चलौँ। संविधानको पालना गर्नुपर्छ। संविधानमा जेसुकै होस् हामीलाई यही चाहिन्छ भनेर हुँदैन।”

तर अविश्वासको प्रस्ताव अघि बढाएका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उक्त प्रस्तावलाई सशक्तरुपमा अगाडि बढाउने बताएका छन्।

अल्पमतमा परिसकेको ओली नेतृत्वको सरकारले सत्ता लम्ब्याउन खोजिरहेको कांग्रेस र माओवादी केन्द्रका नेताहरुको भनाइ छ।

अविश्वासको प्रस्तावको पक्षमा सशक्त रुपमा उभिने निर्णय गरेको माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सत्ता नछाड्ने हठ देखाएर प्रधानमन्त्रीले नै मुलुकलाई मुठभेडतर्फ लैजान खोजेको बताए।

अस्थिरता

उनले भने, “उहाँले चाहेको त्यस्तै मुठभेडतर्फ लाने, मुलुकमा अस्थिरतातर्फ पैदा गर्ने र आफ्नो कुर्सी जोगाउनेतर्फ उहाँको ध्यान देखियो। राष्ट्रलाई निकास दिने, समस्याको समाधान गर्नेतर्फ देखिएन। संविधान कार्यान्वयन गर्ने, शान्ति प्रक्रिया टुंग्याउनेतिर भन्दा कुर्सीमा कसरी टिक्ने भन्नेतिरनै उहाँ उद्यत हुनुभयो।”

अविश्वासको प्रस्तावलाई पूर्णरुपमा साथ दिने केन्द्रीय समितिमार्फत निर्णय गरिसकेको कांग्रेसले संसदीय दलको बैठक बिहीबार बिहानलाई बोलाएको छ।

सो पार्टीका नेता नारायण खड्काले संविधान संशोधन अहिलेको आवश्यकता नभएको भन्दै प्रधानमन्त्री ओलीले सरकार छाड्नुपर्ने बताए।

उनले भने, “एउटा अल्पमतमा परेको सरकारले विधेयक पेस गर्ने अनि विधेयक पारित हुनुपर्छ भन्ने अडान लिनु कहाँसम्म लोकतान्त्रिक संसदीय अभ्यासभित्र पर्छ? यो दुनियाँ हँसाउने काम हो। त्यसैले भोलि बिहानसम्म सायद उहाँलाई आवेशमा आएर अभिव्यक्ति दिइहालेँ। अब यसो हुनु हुँदैन भन्ने सोच उहाँमा आउँछ भन्ने मेरो विश्वास छ।”

सभामुखले जारी गतिरोध अन्त्यका लागि छलफलमा तीव्रता दिइरहेको पृष्ठभूमिमा प्रमुख तीन दलको अडानले स्थिति झन् जटिल हुने कतिपयको बुझाइ छ।