ट्रम्प औपचारिक रुपमा उम्मेदवार घोषित

  • 20 जुलाई 2016
तस्वीर कपीराइट AP

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावका लागि रिपब्लिकन पार्टीको तर्फबाट डोनल्ड ट्रम्प औपचारिक रुपमा उम्मेदवार घोषित भएका छन्।

ओहायो राज्यमा भएको पार्टीको अधिवेशनमा भएको मतदानमा ट्रम्पलाई उम्मेदवार बन्न आवश्यक समर्थन प्राप्त भएको हो।

बिहीबार आफ्नो मन्तव्यको क्रममा उनले औपचारिक रुपमा उक्त मनोनयन स्वीकार गर्ने ठानिएको छ।

शक्तिशाली व्यापारी डोनल्ड ट्रम्पले अब डेमोक्रेटिक तर्फकी सम्भावित उम्मेदवार हिलरी क्लिनटनसँग नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा लड्ने छन्।

उलटपुलट

गएको एक वर्षमा न्यूयोर्कका यी धनाढ्यले अमेरिकाको राजनीतिलाई उलटपुलट पारेका छन्।

उनले लोकप्रियताका लागि आलंकारिक भाषा प्रयोग गरेर होस् वा गैरकानुनी रुपमा प्रवेश चाहने आप्रवासी र इस्लामिक स्टेट भनिने आइएस विद्रोहीको निन्दा गरेर होस् अथवा अमेरिकीहरुका लागि विदेशबाट रोजगारका अवसर फिर्ता ल्याउने बाचा गरेर होस्, समर्थन र घृणा दुबै बटुलेका छन्।

ट्रम्पले ओहायो राज्यको क्लिभल्याण्डमा भएको पार्टीको अधिवेशनमा भएको प्रारम्भिक मतदानमा देशैभरको परिणामबाट आफ्नो उम्मेदवारी सुरक्षित बनाएका हुन्।

सम्बोधन

विगतमा जब डोनल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा जाने आफ्नो आशय रहेको बताएका थिए धेरै मानिसले उनको उम्मेद्वारीलाई ठट्टाको रुपमा उडाएका थिए।

क्लिभल्याण्डमा रहेका बीबीसी संवाददाता जेम्स कुक भन्छन्, "तर अहिले कोही हाँसिरहेका छैनन्।"

उनका अनुसार अधिवेशन स्थलमा ट्रम्पको गृहराज्यले उनलाई राष्ट्रपतिको उम्मेद्वारको बहुमत पुर्याएको सुनाइयो। र, उनका छोरा डोनल्ड जुनियरले न्युयोर्कका प्रतिनिधिहरुको उनलाई समर्थन सुनाउँदै बधाइ छ भने।

बुधबार हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख पल रायन, ट्रम्पका छोरा डोनल्ड जुनियर र छोरी टिफानीले अधिवेशनलाइ सम्बोधन गर्ने छन्।

उक्त अधिवेशनस्थल बाहिर प्रदर्शन गरिरहेका केही समूह र प्रहरीबीच भीडन्त भएको थियो।