रुसी खेलाडीमाथिको प्रतिबन्ध सदर

  • 21 जुलाई 2016
तस्वीर कपीराइट AP

स्विट्जर्ल्याण्ड स्थित खेलकुद सम्बन्धी विवादहरुमा मध्यस्थता गर्ने न्यायिक निकायले रुसका ट्रयाक एण्ड फिल्ड खेलाडीलाई निलम्बन गर्ने निर्णय विरुद्धको पुनरावेदनलाई अस्वीकार गरेको छ।

'कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्ट' नामक न्यायिक निकायले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपका कारण रुसी खेलाडीमाथि लागू गरिएको प्रतिबन्धलाई मान्यता दिएको हो।

एथलेटिक्स खेलकुदको नियामक निकाय आईएएएफ नियम अनुसार रुसी खेलाडीहरु आगामी महिना रिओमा हुने ओलिम्पिक खेलमा भाग लिन योग्य नभएको उक्त अदालतले बताएको छ।

केही रुसी खेलाडीले भने कुनै देशसंग सम्बन्धित नभएर र अन्य नियमहरु पुरा गरेर ओलिम्पिकमा भाग लिन पाउनेछन्।

आरोप

प्रतिबन्धित औषधि विरुद्धको विश्व निकाय (वाडा) ले रुसमा सरकारी प्रायोजनमा प्रतिबन्धित औषधिको प्रयोग हुने गरेको भनी एउटा प्रतिवेदन प्रकाशित गरेपछि सन् २०१५ को नोभेम्बरमा रुसलाई ट्रयाक एण्ड फिल्ड खेलहरुबाट प्रतिबन्धित गरिएको थियो।

एथलेटिक्स खेलकुदको विश्व नियामक निकाय आईएएएफले गरेको उक्त निर्णयलाई रुसी ओलिम्पिक समिति र ६८ जना रुसी खेलाडीहरुले उल्ट्याउने प्रयास गरेका थिए।

खेलकुद मन्त्री भिटाली मुट्कोले छल गर्ने मानिसलाई पक्रन नसकेकोमा माफी मागेका थिए, तर सरकारी प्रायोजन रहेको भने स्वीकार गरेनन्।

तर यसै हप्ता आएको वाडाको अर्को प्रतिवेदनले रुसी खेलकुद मन्त्रालयका वरिष्ठ पदाधिकारीहरु छलमा संलग्न रहेको भन्दै अझ कडा आरोपहरु लगाएको थियो।

सोमबार उक्त प्रतिवेदन प्रकाशित भएपछि सबै रुसी खेलाडीहरुमाथि प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटिलाई आह्वान गरिएको थियो।

अस्वीकार

निर्णय गर्नुअघि उक्त कमिटिले बिहीबारको फैसलाको विश्लेषण गर्न आउँदो आइतबार बैठक बस्ने बताएको छ।

रुसका खेलकुद मन्त्री भिटाली मुट्कोले उक्त फैसलालाई कानुनी आधार नभएको राजनीतिक निर्णय भनेका छन्।

उनले आईएएएफ लाई भ्रष्ट भन्दै सामूहिक दण्डको भर्त्सना गरे र रुस निस्क्रिय नबस्ने पनि बताए।

रुसी अधिकारीहरुले कानुनी उपचार खोज्ने क्रम जारी राख्ने संकेत दिएका छन्।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोफले सबै खेलाडीलाई सामूहिक रुपमा जिम्मेवार बनाउने सिद्धान्त मान्य नहुने बताएका छन्।