काबुलमा मृतकको अन्त्येष्टि शुरु

  • 24 जुलाई 2016

अफगानिस्तानको काबुलमा शनिबार भएको आत्मघाती बम हमलाका धेरै मृतकलाई शहरको छेउमा रहेको एउटा पहाडको टुप्पामा संगै समाधिस्थ गरिंदै छ।

उक्त आक्रमणको जिम्मा ईस्लामिक स्टेट समूहले लिएको छ।

शहरको पश्चिम पट्टि केहीको अन्तिम संस्कार शुरु हुँदै गर्दा शवगृहहरुबाट शव लैजानै क्रम जारी थियो।

आक्रमणकारीले शिआ मुसलमान अल्पसंख्यक हजारा समुदायले गरेको एउटा प्रदर्शनलाई निशाना बनाएका थिए।

अझै हराईरहेका

राष्ट्रपति अशरफ गनीले मृतकहरुका लागि गरिएको प्रार्थनाको नेतृत्व गरेका छन् र अफगानिस्तानमा एक दिनको राष्ट्रिय शोक जारी छ।

केही परिवारहरु अझै पनि हराईरहेका आफन्तहरुको खोजी गरिरहेका छन्।

उनीहरु अस्पताल बाहिर उभिएर भित्तामा टाँसिएका नामहरु पढिरहेका छन् र शवगृहहरुमा सोधपुछ गर्दैछन्।

कम्तिमा २३० जना घाईते भएको उक्त आक्रमणपछि सरकारले १० दिन सम्मका लागि सार्वजनिक स्थलमा भेटघाट र प्रदर्शनहरुमाथि प्रतिबन्ध लगाएको छ।

तस्वीर कपीराइट AFP

एउटा नयाँ विद्युत प्रसारण लाईनले उनीहरु बस्ने गरेको क्षेत्रलाई उपेक्षा गरेको भन्दै हजारौं हजाराहरुले विरोध प्रदर्शन गरिरहेको समयमा आक्रमण भएको थियो।

भेदभावको गुनासो

एकजना अफगान गुप्तचर श्रोतले बीबीसीलाई बताएअनुसार अबो अली नामक आईएसका एकजना कमाण्डरले हमला गर्नका लागि ३ जना आक्रमणकारीलाई पठाएका थिए।

तर ती मध्ये एकजनाले मात्रै विस्फोट गर्न सफल भएको बुझिएको छ।

दोस्रो आक्रमणकारीले लगाएको पेटी विस्फोट हुन नसकेको र तेस्रो आक्रमणकारी सेनाद्वारा मारिएको ती श्रोतको भनाई छ।

राष्ट्रपति गनीले आक्रमणका जिम्मेवार मानिस विरुद्ध प्रतिशोध लिने बताएका छन् भने अफगानिस्तानको मुख्य ईस्लामवादी लडाकु समूह तालेवानले आईएसले गृहयुद्ध शुरु गर्न खोजेको भन्दै उक्त आक्रमणको भर्त्सना गरेको छ।

धेरैजसो देशको मध्य भागमा बस्ने हजाराहरुले लामो समयदेखि भेदभावको गुनासो गरिरहेका छन्।

सन् १९९० को दशकमा तालेवान शासनको समयमा धेरै हजाराहरु अफगानिस्तान छोडेर पाकिस्तान ईरान र ताजिकिस्तान भागेका थिए।

नेताहरुले उनीहरुमाथिको भेदभावको फाईदा उठाउँदै आफ्नै शक्ति बढाएको भन्दै केही हजाराहरु सरकार र राजनीतिक नेताहरु प्रति रुष्ट छन्।