प्रधानमन्त्रीको राजीनामा स्वीकृत

  • 24 जुलाई 2016
तस्वीर कपीराइट bbc

आफ्नो सरकारविरुद्ध प्रस्तुत अविश्वास प्रस्ताव अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

संसदमा संवोधन गर्न जानुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका थिए।

राष्ट्रपति कार्यालयका अनुसार अर्को सरकार गठन नहुँदासम्म ओली सरकारले नै जिम्मेवारी निर्वाह गर्ने छ।

अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आफूले राजीनामा दिएको जानकारी संसदलाई पनि गराएका थिए।

अभिमन्यू

नौ महिना पुरानो सरकारविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावबारे निर्णय गर्न मतदान गराउने कार्यक्रम थियो।

संसदमा बोल्दै उनले सरकार परिवर्तन स्वाभाविक भएपनि आफ्नो सरकारविरुद्ध आएको अविश्वास प्रस्तावलाई 'आकस्मिक हमला' को संज्ञा दिए।

प्रमुख विपक्षी नेपाली कांग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउन चालेको कदमप्रति असन्तुष्टि जनाउँदै उनले 'एक्ल्याएर' आक्रमण गरिएका महाभारतका पात्र अभिमन्यूसँग आफूलाई तुलना गरे।

उनले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफूलाई राष्ट्रिय सहमतिको विपक्षमा उभ्याएको भन्दै मुलुक 'अन्त्यहीन अस्थिरतातर्फ धकेलिने' चिन्ता लागेको बताए।

टालटुले मन

माओवादी केन्द्रले प्रधानमन्त्री सहमति विपरीत हिँडेको भन्ने आरोपको खण्डन गर्दै उसको चित्त बुझाउन निकै प्रयत्न गरेको प्रधानमन्त्रीको भनाई थियो।

प्रधानमन्त्री ओलीले गायिका अरुणा लामाले गाएको गीत उद्धृत गर्दै धेरैपटक माओवादी केन्द्रको फाटेको 'मन सिलाएको' बताए।

तस्वीर कपीराइट Reuters

उनले 'तर फाटेको मन हरेक साँझ टालेर पठाए पनि भोलिपल्ट अर्कै ठाउँमा उध्रिएको हुन्थ्यो' भनेपछि प्रचण्ड पनि निकै हाँसेका थिए।

प्रधानमन्त्री अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारका पालामा भएका अन्तर्राष्ट्रिय सम्झौता र सन्धिहरुको सम्मान र कार्यान्वयन गराउने बताए।

उनको भनाई 'वर्तमान सरकारको विस्थापन चीनसँग भएका सहमति र सम्झौतालाई निष्प्रभावित तुल्याउने प्रयास' भनि गरिएका टिप्पणी लक्षित जवाफ ठानिएको छ।