फ्लोरिडाको गोलीकाण्डमा २ को मृत्यु

  • 25 जुलाई 2016
तस्वीर कपीराइट Reuters

अमेरिकाको फ्लोरिडास्थित एउटा रात्रि क्लबमा बालबालिका र किशोर किशोरी माथि गोली चलेपछि २ जना मारिएका छन् र थुप्रै जना घाईते भएका छन्।

फोर्ट मायर्स शहरमा किशोरहरुका लागि एउटा सामाजिक कार्यक्रम आयोजना गरिएको स्थल क्लब ब्लूमा उक्त आक्रमण भएको थियो।

कार्यक्रम सकिएपछि अभिभावकहरु आफ्ना बालबालिकालाई लिन उक्त स्थानमा पुगेको समयमा गोली चलेको क्लब ब्लूले बताएको छ।

आक्रमण सोमबार राति करीब साढे १२ बजे भएको थियो।

गम्भीर चोट

प्रहरीको एउटा वक्तव्यमा मानिसहरुलाई साधारण देखि गम्भीर चोट लागेको बताईएको छ।

घाईतेहरुलाई एम्बुलेन्समा राखेर स्थानीय अस्पताल लगिएको छ। ३ जना गम्भीर घाईतेहरु अझै पनि अस्पतालमा रहेको अस्पतालकी एकजना प्रवक्ताले बताएकी छिन्।

घाईतेहरुको उमेर १२ देखि २७ वर्षको बीचमा छ।

क्लबको गाडी पार्किङ गर्ने ठाउँमा गोली चलेका थिए र एउटा घरलाई र एउटा गाडीलाई पनि गोली लागेको छ।

गोली चलेको सुनिएपछि ३ जनालाई गिरफ्तार गरिएको प्रहरीले बताएको छ।

शोक

क्लब ब्लूले घटनाप्रति गहिरो शोक प्रकट गर्दै फेसबुकमा एउटा वक्तव्य राखेको छ।

अधिकारीहरु आक्रमणको कारण पत्ता लगाउने कोशिश गरिरहेका छन्।

फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले सोमबार एउटा वक्तव्य जारी गर्दै अन्य सबै कार्यक्रमहरु रद्द फोर्ट मायर्सका प्रहरीहरु र स्थानीय अधिकारीलाई भेट्ने बताएका छन्।

बिहानको घटनाका बारेमा धेरै कुरा पत्ता लागिनसकेको भएतापनि केही पीडिहरु बालबालिका भएको र पीडित र उनीहरुका परिवारका लागि प्रार्थना गरिरहने गभर्नर स्कटले बताएका छन्।

फ्लोरिडाकै अर्को रात्रिक्लबमा ४९ जना मारिने गरी भएको आक्रमणको डेढ महिनापछि फोर्ट मायर्समा आक्रमण भएको हो।