‘बाढीपहिरोले कम्तीमा ३७ जनाको मृत्यु’

  • 26 जुलाई 2016
तस्वीर कपीराइट .

अविरल वर्षापछि देशका विभिन्न भागमा आएको बाढीपहिरोका कारण गत चौबिस घण्टाभित्र कम्तीमा ३७ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

मध्यपश्चिमको प्यूठान जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ, जहाँ कम्तीमा १३ जनाको ज्यान गएको त्यहाँका प्रहरी प्रमुखले बताए।

गृह मन्त्रालयका अनुसार कम्तीमा २४ जना हराइरहेका छन् र उनीहरुको खोजी एवं पीडितको राहत तथा उद्धार कार्य जारी छ।

अधिकारीहरुका अनुसार हिजोदेखिको अविरल वर्षाले देशका विभिन्न भागमा बाढीपहिरोले मानवीय तथा भौतिक क्षति पुर्याएको छ।

वितण्डा

प्यूठानमा खोलाले बगाएर र पहिरोले पुरिएर कम्तीमा १३ जनाको ज्यान गएको छ।

प्यूठानका प्रहरी प्रमुख रञ्जीत राठोरले भने, “अहिलेसम्म १३ वटा शव फेला पारेका छौँ जसमध्ये ४ वटा खोलाले बगाएको अवस्थामा थियो। त्यस्तै पहिरोले पुरिएको घरबाट ९ वटा शव निकालेका छौँ।”

प्यूठानपछि पश्चिम नेपालको गुल्मीमा बाढीपहिरोले ठूलो वितण्डा मच्चाएको छ।

त्यहाँ ७ जनाले ज्यान गुमाएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए।

तस्वीर कपीराइट .

उनले थपे, “हस्तीचौर गाविसमा तीन जनाको, बिसुखर्क गाविसमा दुई जनाको र वाङदी गाविसमा दुई जनाको मृत्यु भएको छ।”

पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमका अनुसार बाढीपहिरोका कारण गत २४ घण्टाभित्र चारजनाले ज्यान गुमाएका छन्, जसमध्ये एउटै परिवारका तीनजना छन्।

उनले भने, “गोठाति गाविसमा तीन जना र दोभान गाविसमा एक जना गरी चार जनाको मृत्यु भएको छ।”

खतरा

बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जिल्लामा पहिरोले पुरिएर चारजनाको ज्यान गएको पुष्टि भएको बताएका छन्।

उनले थपे, “हालसम्मको ‍विवरण अनुसार चार जनाको मृत्यु भइसकेको छ। सबै जनाको घरमा पहिरो आएर मृत्यु भएको हो।”

त्यसैगरी गृह मन्त्रालयका अनुसार बाढीपहिरोका कारण मकवानपुरमा ३ जनाको र रुपन्देहीमा २ जनाको ज्यान गएको छ भने काठमाण्डू, अर्घाखाँची, दोलखा र सर्लाही जिल्लामा एक-एक जनाले ज्यान गुमाएका छन्।

विभिन्न क्षेत्रका मानव बस्ती डुबानमा परेका छन् भने खेतीयोग्य जमिन बाढीले बगाएको उनीहरुले बताएका छन्।

देशका ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ।

राप्ती र नारायणी नदीमा पानीको मात्रा खतराको संकेतभन्दा माथि पुगेको बताइएको छ।