'पादरीका हत्यारा आइएसप्रति वफादार'

  • 26 जुलाई 2016
राष्ट्रपति ओलान्द तस्वीर कपीराइट EPA
Image caption राष्ट्रपति ओलान्दले फ्रान्समा आतंककारी हमलाको खतरा निकै उच्च रहेको बताएका छन्

फ्रान्सका राष्ट्पति फ्राँस्वाँ ओलान्दले एकजना ८४ वर्षीय इसाई पादरीको हत्यामा संलग्न दुईजना हमलाकारीहरु कथित इस्लामिक स्टेटप्रति वफादार रहेको बताएका छन्।

मंगलबार बिहान फ्रान्सको उत्तरी शहर रुयँस्थित एक ऐतिहासिक गिर्जाघरमा बिहान प्रार्थनासभा भैरहेका बेला दुईजना हमलाकारीहरुले हमला गरेका थिए।

उनीहरुले ८४ वर्षीय पादरी ज्याक हेमेलको घाँटी रेटेर हत्या गरेको बताइएको छ।

गम्भीर

एकजना अर्का व्यक्तिको स्थिति गम्भीर रहेको छ।

हमलामा बाँच्न सफल एक ननले हमलाकारीहरुले पादरीको घाँटी रेटनु अघि उनलाई घुँडा टेक्न लगाएको बताइन्।

हमलाकारीहरु गिर्जाघरबाट बाहिर निस्कँदा सुरक्षाकर्मीहरुले गोली प्रहार गरी उनीहरुलाई मारीदिएका थिए।

उनीहरुले कैयौं मानिसहरुलाई केही समय बन्धक पनि बनाएका थिए।

कथित इस्लामिक स्टेटसंग संबद्ध अमाक समाचारसंस्थाले, उसकै शब्दमा, आइएसका दुईजना सैनिकहरुले सो हमला गरेको जनाएको छ।

हमलाकारीहरुमध्ये एकजना गतवर्ष सिरिया जान खोजेको तर उनलाई टर्कीको सीमाबाट फर्काइएको बताइएको छ।

पछि उनले झण्डै एक वर्ष फ्रान्सेली जेलमा बिताएका थिए।

उपाय

घटनास्थल पुगेका राष्ट्रपति ओलान्दले आफ्नो मुलुकले कानुनको परिधिभित्र रहेर इस्लामिक स्टेटसंग लड्न हरेक उपाय प्रयोग गर्ने बताए।

उनले फ्रान्समा आतंककारी हमलाको खतरा निकै उच्च रहेको पनि बताए।

क्याथोलिक इसाईहरुका धर्मगुरु पोप फ्रान्सिसले सो हत्यालाई मुर्खतापूर्ण भन्दै त्यसको निन्दा गरेको छन्।

झण्डै दुई साता अघि दक्षिणी शहर निसमा एकजना हमलाकारीले भीडमाथि एउटा ट्रक चलाएर चौरासी जनाको हत्या गरेपछि फ्रान्सभरिनै सुरक्षा व्यवस्था कडा पारिएको थियो।

गत वर्ष राजधानी प्यारिसमा इस्लामिक स्टेट संबद्ध हमलाकारीहरुको हमला पछि लगाइएको आपत्कालिन स्थिति फेरि लम्ब्याइएको छ।