मिशेल ओबामाद्वारा ट्रम्पको आलोचना

  • 26 जुलाई 2016
तस्वीर कपीराइट AFP

अमेरिकाको फिलाडेल्फियामा भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा प्रथम महिला मिशेल ओबामाले रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पको भर्त्सना गर्दै हिलरी क्लिंटनको प्रबल समर्थन गरेकी छिन्।

टेलिभिजनमा प्रसारित सार्वजनिक व्यक्तिहरुको घृणायुक्त उक्तिले देशको साँचो भावनालाई प्रतिनिधित्व नगर्ने उनले बताएपछि भीडले उनलाई उत्साहपुर्ण समर्थन गरेको थियो।

मिशेल ओबामाको भाषणलाई डोनल्ड ट्रम्पमाथिको आक्रमणका रुपमा हेरिएको थियो।

तर उनले रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका प्रत्याशी ट्रम्पको नाम भने लिईनन्।

हिलरीको समर्थन

उनका पतिपछि राष्ट्रपति पदमा नियुक्त हुने व्यक्तिले आफ्नो काम जानेको हुनुपर्ने र कामलाई गम्भीरतापुर्वक लिने किसिमको हुनुपर्ने उनले बताईन्।

त्यो व्यक्ति हिलरी क्लिंटन मात्र हुन सक्ने उनको विचार थियो।

डेमोक्रयाटिक पार्टीबाट राष्ट्रपति पदकी प्रत्याशी क्लिंटनका कारण आफ्ना छोरी र सबै छोराछोरीले महिला अमेरिकाको राष्ट्रपति बन्न सक्छिन् भन्ने कुरालाई तथ्यका रुपमा मान्न सक्ने ओबामाले बताईन्।

देशका बालबालिकाप्रति निष्ठा भएकी साँचो जनसेवक भन्दै उनले क्लिंटनको प्रशंसा गरिन्।

राष्ट्रपतिद्वारा प्रशंसा

मिशेल ओबामाको भाषणपछि राष्ट्रपति ओबामाले ट्रवीटरमा गजब महिलाको गजब भाषण भन्दै उनको प्रशंसा गरेर प्रेम प्रकट गरेका थिए।

तस्वीर कपीराइट AP

भाषणप्रति आफुले गर्व गरेको भन्दै प्रथम महिलाका रुपमा मिशेललाई पाएकोमा देश धन्य भएको राष्ट्रपति ओबामाले ट्वीटमार्फत बताएका थिए।

त्यो भन्दा अघि भर्मोन्टका सिनेटर बर्नी स्याण्डर्सले डेमोक्र्याटहरुलाई क्लिंटनलाई समर्थन गर्न आग्रह गरेका थिए।

क्लिंटनले बिहीबार आफ्नो पार्टीको औपचारिक मनोनयन स्वीकार गर्नेछिन्।

रिपब्लिकन र डेमोक्रयाट दुबै पार्टीका प्रतिद्वन्दीलाई आलोचना गर्ने गरेका डोनल्ड ट्रम्पले भने बर्नी स्याण्डर्स क्लिंटनसंग बिकिसकेको भन्दै टिप्पणी गरेका छन्।

उनले डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनका अन्य वक्ताको पनि आलोचना गरेका छन् तर मिशेल ओबामाको भने उल्लेख गरेनन्।