सिरियाली शहरमा आक्रमण; ४० को मृत्यु

  • 27 जुलाई 2016
तस्वीर कपीराइट SANA

उत्तरपूर्वी सिरियास्थित मुख्यतया कुर्द बसोबास रहेको शहर कामिश्लीमा एउटा ठूलो बम आक्रमण भएको छ।

आक्रमणमा परेर ४० जना मारिएका छन् र १०० जना भन्दा बढी घाइते भएका छन्।

टर्कीको सीमाना नजिकै रहेको हसाके प्रान्तमा भएको उक्त आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ।

ब्रिटेनमा रहेको एउटा पर्यवेक्षक समूहका अनुसार कुर्द सेनाको मुख्यालय नजिकै एउटा ट्रक बम विस्फोट गरिएको थियो।

ठुलो विध्वंश

उत्तरी सिरियामा कुर्द बाहुल्य रहेका लडाकु अमेरिकी नेतृत्वको गठबन्धनको समर्थनमा आइएस विरुद्ध लडिरहेका छन्।

तस्वीर कपीराइट AFP

सिरियाको सरकारी टेलिभिजनले आक्रमणपछिको स्थिति भन्दै देखाएका केही दृश्यमा ठूलो क्षेत्रमा विध्वंश भएको र भवनहरुबाट धुवाँ उडिरहेको देखिएको छ।

भग्नावशेष मुनि मानिसहरु चेपिएको हुनसक्ने र मृतकको संख्या बढ्न सक्ने एकजना प्रत्यक्षदर्शीले बीबीसीलाई बताए।

आइएसले आफ्नो समाचार संस्था अमाकमा स्थानीय कुर्द प्रहरी चौकी र सरकारी भवन नजिकै एकजना आत्मघाती हमलाकारीले ट्रक विस्फोट गराएको बताएको छ।

शुरुमा उक्त स्थानमा दुईवटा बम विस्फोट भएको बताइएको थियो।

तर पहिलो विस्फोटले एउटा ग्यास ट्यांकको विस्फोट गराएको देखिएको एएफपी समाचार संस्थाले बताएको छ।

रक्तदान

स्थानीय अस्पतालहरुले स्थानीय जनतालाई रक्तदान गर्न आह्वान गरेको एउटा पर्यवेक्षक समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्सले बताएको छ।

कामिश्ली शहरमाथि पहिले पनि आक्रमण भएका थिए।

तर पछिल्लो आक्रमण अहिलेसम्मकै सबभन्दा ठूलो भएको उक्त समूहले बताएको छ।

विस्फोटका कारण सीमानापारी टर्कीको नगर नुसयबीनमा पनि झ्यालका शीशाहरु फुटेका थिए।