पोपद्वारा भूतपूर्व मृत्यु शिविरको भ्रमण

  • 29 जुलाई 2016
तस्वीर कपीराइट AP

क्याथोलिक इसाईहरुका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले दस लाख भन्दा बढी मानिसको हत्या गरिएको पोल्याण्डको मृत्यु शिविर अस्विट्ज बर्केनमा नाजीपीडित मानिसहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

उक्त शिविरको अतिथि पुस्तिकामा उनले केही शब्द लेखेका थिए।

पोल्याण्डले इसाई धर्म अपनाएको १ हजार ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा उनले गरेको पोल्याण्ड भ्रमणको शुक्रबार तेश्रो दिन हो।

पोप फ्रान्सिसले भूतपूर्व मृत्यु शिविर अस्विट्जमा प्रार्थना गरेका थिए।

उक्त यातना र हत्या गरिएको स्थलको वरिपरि उनी एक्लै मौन हिंडेका थिए।

व्यक्तिगत भेटघाट

पोल्याण्डमा नाजी नियन्त्रण रहेको समयमा उक्त स्थलमा ११ लाख मानिस मारिएका थिए र ती मध्ये धेरैजसो यहुदी थिए।

पोप फ्रान्सिसले शिविरबाट जीवितै निस्कन सफल भएका वृद्ध मानिसहरुसंग भेटघाट गरे र उनीहरुसंग नरम भावमा कुरा गरे।

पोप फ्रान्सिस ‘कामले तिमीलाई स्वतन्त्र बनाउँछ’ भन्ने पंक्ति कुँदिएको अस्विट्जको मूलद्वाराबाट भित्र जाने तेस्रो पोप बनेका छन्।

वार्साबाट बीबीसीका एडम ईस्टन भन्छन्, आफ्ना जर्मन र पोलिश अग्रजहरु जस्तो उनले भने त्यहाँ भएका विभत्स घटनाका बारेमा बोलेनन्।

मौन श्रद्धाञ्जली

सेतो लुगा र टोपी लगाएर उनी उक्त मूलद्वारभित्र एक्लै छिरे।

जीवित पीडितहरुलाई भेटेपछि उनले 'डेथ वाल' भनिने पर्खालमा एउटा मैनबत्ती राखे, जहाँ नाजीहरुले कैदीहरुको ज्यान लिने गर्दथे।

त्यसपछि उनी फेरी एक्लै हिंडे र म्याक्सिमिलियन कोल्ब नामक पोलिश क्याथलिक धर्मगुरुलाई बन्दी बनाइएको कोठामा रोकिएर प्रार्थना गरे।

कोल्बले अर्को मानिसको जीवन बचाउन आफ्नो बलिदान दिएका थिए।

चर्चले उनलाई सन् १९८२ मा सन्त घोषणा गरेको थियो।

एउटा सानो झ्यालबाट मात्रै उज्यालो छिर्ने त्यो भुईंमुनिको कोठामा पोप निकै बेर घुँडा टेकेर बसेको एपी समाचार संस्थाले बताएको छ।

तस्वीर कपीराइट AFP

बिहीबार दक्षिणी शहर क्राकोफमा भएको विश्व युवा दिवसको जुलुसमा उनले सबै आप्रवासीहरुप्रति करुणा देखाउन आह्वान गरे।

पोल्याण्डको आप्रवासी विरोधी दक्षिणपन्थी सरकारको भावना विपरीत उनले लाखौं मानिसलाई ‘दयालु मनहरु शरणार्थी र आप्रवासीलाई स्वागत गर्न तयार हुने’ बताएका थिए।