ब्रिटेनको परमाणु उर्जा गृह निर्माणमा ढिलाई

  • 29 जुलाई 2016
तस्वीर कपीराइट PA

बीस वर्ष यता पहिलोपटक ब्रिटेनमा बनाउन लागिएको परमाणु उर्जा गृहको योजनाले अनपेक्षित ढिलाईको सामना गर्नुपरेको छ।

ब्रिटेनको सरकरले उक्त आयोजनाबारे अन्तिम निर्णय शरद याम सम्मका लागि पछि सारेको छ।

फ्रान्सको उर्जा कम्पनी इडीएफले त्यसको निर्माण गर्न सहमति जनाएको केही घण्टापश्चात ब्रिटेनका नयाँ व्यापार मन्त्री ग्रेग क्लार्कले उक्त आयोजना अघि बढाउन अघि आफुले त्यसबारे सघन अध्ययन गर्नु जरुरी रहेको बताए।

बीबीसी सम्वाददाता जन मोयलान भन्छन्, “सरकारी सुत्रहरुले सरकार सो आयोजनाबाट पछि हट्न खोजेका भन्ने टिप्पणीको खण्डन गरेका छन्। उनीहरु भन्छन् देशको नया नेतृत्वले यो विशाल आयोजनाबारे बुझ्न केही समय लिइनु सही हो।”

अनपेक्षित

करीब २४ अर्ब अमेरिकी डलरको उक्त आयोजनाको अधिकांश खर्च बेहोर्ने फ्रान्सेली कम्पनी इडीएफले यसबारे हालै सहमति जनाएको थियो।

करारपत्रहरुमा शुक्रबार हस्ताक्षर हुने ठानिएको थियो।

तर ब्रिटेनका व्यापार मन्त्री ग्रेग क्लार्कले सरकार यस आयोजनाबारे अझै सजगतापूर्ण अध्ययन गर्दै रहेको जनाए।

विवरणहरुका अनुसार इडीएफका प्रमुख कार्यकारीले ब्रिटेनको भ्रमण रद्द गरेका छन्।

आलोचकहरुले उक्त आयोजनाले वातावरण विनाश गर्ने अनि खर्च पनि अत्यन्त बढ्ने बताएका थिए।

त्यसमाथि लगानीको एक तिहाई चिनियाँ लगानीकर्ताहरुले बेहोर्ने योजनाप्रति पनि उनीहरुले चिन्ता जनाएका थिए।

बीबीसीका उद्योग सम्वाददाता भन्छन् ब्रिटेनको सो निर्णयले इयुबाट बाहिरिने मतपश्चात ब्रिटेन अझै व्यापारका लागि खुला छ भन्ने सरकारी दावीमाथि प्रश्न उठ्नेछन्।