अपमानविरुद्धका सबै मुद्दा फिर्ता: एर्दोआन

  • 30 जुलाई 2016
तस्वीर कपीराइट Reuters

टर्कीका राष्ट्रपति राजिप टायिप एर्दोआनले सद्भावनाको संकेतका रुपमा, आफ्नो अपमान गरेको आरोप लागेका व्यक्तिविरुद्धको मुद्दा फिर्ता लिने घोषणा गरेका छन्।

हालैको असफल सत्ता पलटको प्रयासपछि आफू एकताको भावनाबाट प्रेरित भएको उनले बताए।

गएको दुइवर्षमा राष्ट्रपतिको अपमान गरेको भन्दै करिब २ हजार अभियोजनहरु स्वीकृत भएका थिए।

सत्ता पलटको असफल प्रयासमा मारिएका दुईसय भन्दा बढी मानिसहरुको सम्झना गर्दै राजधानी अंकारामा गरिएको कार्यक्रममा बोल्दै एर्दोआनले पुन एकपटक अमेरिका र युरोपेली सरकारको निन्दा गरे।

आरोप

सत्ता पलटको असफल प्रयासपछि टर्कीमा विपक्षीहरुमाथि गरिएको दमनको विरोध गर्ने देशहरुको चर्को आलोचना गर्दै राष्ट्रपति एर्दोआनले उनीहरुलाई आफ्ना मामिलामा मात्रै ध्यान दिन भनेका छन्।

यसअघि उनले अमेरिकी सेनाको मध्य कमान्डका प्रमुख जेनरल जोसेफ भोटेलाई निशाना बनाउँदै उनी सत्ता पलटको योजना बुन्नेहरुको साथमा उभिएको आरोप लगाएका थिए।

बिहीबार बोल्दै जेनरल भोटेलले केही उच्च सैनिक अधिकारीहरुलाई कारागारमा राखेका कारणले अमेरिका र टर्की बीचको सम्बन्ध बिग्रन सक्ने बताएका थिए।

राष्ट्रपति निवासमा बोल्दै एर्दोआनले भने, “मेरो मानमर्दन गर्ने गरी मलाई गाली गर्ने सबैमाथि लगाइएका मुद्दाहरु फिर्ता लिएको घोषणा गर्न चाहान्छु।”

आफ्नो कदमलाई सद्भावको संकेतका रुपमा अर्थ्याएका उनले अरु देशहरुलाई टर्कीबारे चिन्ता नगर्न र अनावश्यक सुझाव नदिन भनेका छन्।

आलोचना

असफल सत्ता पलटको प्रयास यता झण्डै १८ हजार जनालाई गिरफ्तार गरी कारगारमा राखेको भन्दै टर्किको आलोचना भइरहेको छ।

त्यसबारे कडा आक्रोश व्यक्त गरेका एर्दोआनले युरोपेली संघ र पश्चिमा देशबाट एकजनाले पनि टर्कीलाई श्रद्धान्जली सन्देश नपठाएको र त्यहाँका नेताहरुलाई टर्कीको लोकतन्त्र, उसको जनता र तिनीहरुका भविष्यप्रति चासो नभएको बताए।

टर्कीले असफल सत्ता पलटमा अमेरिकामा बस्दै आएका धर्मगुरु फेतुल्लाह गुलेनको हात रहेको आरोप लगाउँदै आएको छ तर गुलेनले ती आरोपहरु अस्वीकार गरेका छन्।

यसैबीच बिहीबार सैन्य जिम्मेवारीमा हेरफेरको घोषणा गर्दै टर्कीले १७ सय सैनिक अधिकारीलाई बर्खास्त गरेको छ।

सत्ता हत्याउने असफल प्रयास यता सेनाका ४० प्रतिशत जेनरलहरु पदबाट हटाइएका छन्।