महाअभियोग प्रस्ताव अघि बढाउन माग

  • 30 जुलाई 2016
तस्वीर कपीराइट .

चिकित्सा शिक्षा क्षेत्रमा सुधारका निम्ति सरकारसँग यसैसाता सहमति गरेका डा. गोविन्द केसीको सहभागितामा उनका समर्थकहरुले राजधानी काठमाण्डूमा शनिबार प्रदर्शन गरेका छन्।

‘वाक विथ डा. केसी’ अर्थात डा. केसीसँग हिँडौँ नाम दिइएको र्यालीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध महाअभियोग प्रस्ताव अगाडि बढाउनुपर्ने माग जोडदार रुपमा उठाइएको थियो।

सिमसिमे पानीमाझ आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै डा. केसीले आफूहरुको लडाइँ जारी रहेको बताए।

अस्पतालबाटै उठेर आएका डा. गोविन्द केसी र्यालीमा स्वस्फूर्तरुपमा आएको बताउने सहभागीहरु देखेर हौसिएका देखिन्थे।

माग

सलाइन चढाउनका निम्ति लगाइने क्यानुला देब्रे हातमा लगाएको देखिएका उनी राजधानीको बिजुली बजारदेखि समर्थकहरुसँगै हिँडेर नयाँ बानेश्वर पुगे र युवाहरुको बीचमा सिमसिमे पानीमा भूइँमै थचक्क बसेर सम्बोधन गरे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले नै आफ्नो अख्तियारको दुरुपयोग गरेको आरोप लगाउँदै डा. केसीले पदबाट हटाउन उनीविरुद्धको महाअभियोग प्रस्तावलाई अघि बढाउन माग गरे।

उनले भने, “सांसदहरु लोकतन्त्रका सिपाही हुन् कि लोकमानतन्त्रका सिपाही हुन्? यदि लोकतन्त्रका सिपाही हुन् भने लोकमानतन्त्रको अन्त्य गर्नुपर्छ।”

गत शनिबार अनशनमा रहेका डा. केसीको ज्यान बचाउन भन्दै काठमाण्डूमा दबाबमूलक र्याली निकालेका उनका समर्थकहरुको मुख्य निशाना चाहिँ अख्तियार प्रमुख कार्कीनै थिए।

तस्वीर कपीराइट .

गत साताभन्दा उत्साहित देखिएका युवाहरुलाई साथ दिन गृहिणीदेखि विभिन्न क्षेत्रका मानिसहरु र्यालीमा पुगेका थिए।

अभियान

गृह जिल्ला दोलखाबाट हिजोमात्र काठमाण्डू आएको बताउने विश्व साइकलयात्री पुष्कर शाहले र्यालीमा सहभागिता जनाउनुको कारणबारे भने, “यो देशलाई माया गर्ने यो देशको माटोलाई माया गर्ने मान्छेहरुको पछिल्लो पंक्तिमा म पनि उभिएको छु।”

क्षेत्राधिकार बाहिर गइ अख्तियारले हस्तक्षेप गरेको आरोपमाझ अख्तियार प्रमुखविरुद्ध महाअभियोग लगाउनुपर्ने माग उठाएर डा. केसीले पनि राजनीतिमा हात हालेको कतिपयको तर्क छ।

तर त्यस्तो तर्क चित्रकार अस्मिना रञ्जितलाई स्वीकार्य छैन।

उनी प्रश्न गर्छिन्, “हाम्रो को चाहिँ अराजनीतिक छौँ र? मेरो प्रश्न यहीं हो तर यो दलीय राजनीतिभन्दा बाहिरको कुरा भयो। यो चाहिँ दलीय राजनीतिभन्दा मानिसहरुका लागि बढी गरिएको हो।”

अख्तियार प्रमुख कार्कीको सम्पति विवरणबारे जानकारी माग्दै डा. केसीका समर्थकहरु आइतबार आयोगसमक्ष ज्ञापनपत्र बुझाउने बताएका छन्।

आन्दोलन जारी रहेको स्पष्ट सन्देश दिएका डा. केसी र उनका समर्थकहरु जारी अभियानबाट पछि नहट्ने देखिन्थे।