साउदीमा काम गुमेर हजारौं भारतीय भोकभोकै

  • 31 जुलाई 2016
तस्वीर कपीराइट India in Jeddah
Image caption कैयौं दिनदेखि भोकभोकै परेका भारतीय कामदारलाई भारतीय दूतावासले खाद्यान्न बाँडेको छ

साउदी अरेबीयास्थित भारतीय कुटनीतिक नियोगले यो अधिराज्यमा भोकभोकै परेका हजारौं भारतीयहरुलाई खाद्यान्न उपलब्ध गराउन थालेको छ।

विदेश मन्त्री सुषमा स्वराजले साउदी अरेबिया र छिमेकी कुवेतमा काम गुमाएका भारतीयहरुको स्थिति चरम कष्टकर रहेको बताएकी छन्।

लाखौं नेपाली कार्यरत साउदीमा नेपालीहरुको स्थिति खराब भएको भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले बीबीसीलाई बताएका छन्।

जेद्दास्थित भारतीय वाणिज्य दूतावासले पाँचवटा छुट्टाछुट्टै श्रम शिविरहरुमा खानेकुरा राखिएको प्लाष्टिकको पोको हात पार्न लाम बसेका तस्वीरहरु ट्वीट गरिरहेको छ।

राशन वितरण

अर्को ठाउँमा एउटा साउदी कम्पनीमा काम गर्ने पच्चीस सय भारतीय कामदारहरुलाई राशन बाँडिएको छ।

भारतीय सञ्चार माध्यममा आएका समाचार अनुसार तेलको गिर्दो मूल्यका कारण व्यवसायहरु खुम्चिँदै गएकाले साउदी अरेबियामा थुप्रै मानिसहरुलाई कामबाट निकालिएको छ।

त्यसका कारण कैयौं विदेशी कामदारहरु भोकभोकै परेका छन्।

उनीहरुसँग घर फर्किने उपाय पनि छैन।

अहिले काममा रहेका कैयौंले पनि विना तलब काम गरिरहेको बताइएको छ।

एउटा मुख्य निर्माण कम्पनी साउदी ओगेरका कामदारले सात महिनादेखि तलब नपाएको भन्दै प्रदर्शन गरिरहेका छन्।

खाद्य संकट

बीबीसी हिन्दीका अनुसार साउदी अरबको जेद्दा र अन्य ठाउँमा ठूलो संख्यामा भारतीयहरु फँसिरहेका छन्।

भारतीय विदेश मन्त्री सुषमा स्वराजका अनुसार दश हजार त्यस्ता भारतीयहरुले साउदी अरबमा खाद्य पदार्थको संकट झेलिरहेका छन्।

सुषमा स्वराजले भारतीय वाणिज्य दूतावासलाई ति भारतीय सम्म खाना पुर्याउन आदेश दिएकी थिइन् र साउदीमा रहेका तीस लाख भारतीयलाई मद्दत गर्न आग्रह समेत गरेकी थिइन्।

बीबीसी हिन्दीका संवाददातासँग कुरा गर्दै साउदीमा समस्या भोगिरहेका गुजरातका इकबाल खानले भनेका छन्- "सात महिनादेखि तलब पाएको छैन, दश दिन देखि खान पाइएको छैन। जो घर जान चाहन्छन् उनीहरुलाई पठाउँदा पनि पठाइन्न। पिउने पानी सम्म छैन। नुहाउने पानी खाएर बसिरहेका छौं।"

उनले भने-"हामी घर फर्कन चाहन्छौं तर कम्पनीको कार्यालय बन्द छ, हाम्रो कुरा सुन्ने कोही छैन। हाम्रो सारा पैसा कम्पनीमा नै जम्मा भएको छ।"

गुजरातमै रहेका इकबालका एक साथीले इकबालको अवस्थाका बारेमा ट्वीटर मार्फत विदेशमन्त्री स्वराजलाई जानकारी दिएका थिए।

त्यसपछि भारतीयहरुको कष्टकर अवस्था सार्वजनिक भएको थियो।

नेपालीको अवस्था

भारतीयहरुले गर्ने जस्तै काममा लाखौं नेपालीहरु साउदीमा कार्यरत छन्।

साउदीको रियादमा नेपाली दूतावास र जेद्दामा वाणिज्य दूतावास पनि छ।

भारतीय समाचार पढेपछि आइतबार नै ती कार्यालयमा सम्पर्क गरेको परराष्ट्र प्रवक्ता भरत पौडेलले बताएका छन्।

तर ति कार्यालयहरुमा अहिलेसम्म नेपाली संकटमा परेकोबारे कुनै जानकारी नआएको खबर आफुले पाएको प्रवक्ता पौडेलले बताउँछन्।