विदेश गएर नफर्कने कर्मचारीको लगत संकलन

  • 1 अगस्ट 2016
तस्वीर कपीराइट MOGA
Image caption डिभी पिआर लिएका कर्मचारीहरुलाई कारबाहीको दायरामा ल्याउने कानुन यसअघिको सरकारले ल्याएको थियो

अध्ययनका लागि विदेशमा जाने निजामती कर्मचारीहरु स्वदेश नफर्किने प्रवृति बढ्दै गएको भन्दै सरकारले त्यस्ता कर्मचारीहरुको विवरण खोज्ने काम थालेको छ।

पहिलो चरणमा २५ कर्मचारीहरुको नाम संकलन भइसकेको र अन्यको खोजी जारी रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

कानुनले दिएको अधिकार प्रयोग गरी दोषीलाई वर्खास्त नगरिँदा समस्या बढेको अधिकारीहरुले बताएका छन्।

विदेश अध्ययन गर्न गएका त्यस्ता कर्मचारीहरुले अमेरिका, अष्ट्रेलिया, क्यानाडा र ब्रिटेनजस्ता देशहरु रोजेको देखिन्छ।

खोजी

सामान्य प्रशासन मन्त्रालयले डेढ महिना अगाडि एक टोली नै गठन गरी विभिन्न मन्त्रालयहरुबाट विदेशमा अध्ययन गएर नफर्किने कर्मचारीहरुको खोजी गरेपछि पहिलो चरणमा २५ कर्मचारीहरुको नाम संकलन गरेको हो।

उक्त अभियान थालेकी पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा भन्छिन्,"स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि यो समस्या ठूलो रहेको भनिएको छ, सम्बन्धित मन्त्रालयमा त्यसको रेकर्ड अद्यावधिक हुनुपर्ने हो। तर कतिपय मन्त्रालयमा त्यसको रेकर्ड नै नभएको भन्ने पनि बुझियो र कतिपय ठाँउमा गम्भिरतापूर्वक ध्यान नदिएको देखियो।"

कर्मचारीहरुलाई सेवाका क्रममा सरकारी छात्रवृती नीजि खर्चमा वा असाधारण विदा लिएर विदेश अध्ययन गर्न जाने सुविधाको निजामती सेवा ऐनमा व्यवस्था गरिएको छ।

तर अध्ययनबाट फर्केपछि निश्चित अवधिसम्म काम गर्नुपर्ने नियमको भने दुरुपयोग भएको अधिकारीहरु बताउँछन्।

सजाय

त्यस्ता कर्मचारीहरुलाई सेवामुक्त गर्ने, सुविधा बराबरको खर्च भराउने जस्ता दण्डसजायको व्यवस्था भएपनि मन्त्रालयहरु त्यसमा सक्रिय हुने गरेको नदेखिएको अधिकारीहरु बताउँछन्।

सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्मा त्यसको पहिलो दायित्व सम्बन्धित मन्त्रालयको रहको बताउँछन्।

उनले भने,"सामान्य प्रशासन मन्त्रालय एउटा केन्द्रिय प्रशासनिक निकाय हो। तर सम्बन्धित मन्त्रालय, सम्बन्धित निकायहरु जहाँ काम गरेका कर्मचारीहरु हुन्, पहिलो जिम्मेवारी त उनीहरुकै हो।"

कर्मचारीको नाममा राज्यकोषको दुरुपयोग हुने र उक्त पदमा अन्य कर्मचारी पनि राख्न नमिल्ने भएकोले यसले राज्य दोहोरो मारमा परेको अधिकारीहरु बताउँछन्।

उनीहरुका अनुसार सरकारले कारवाही नगरी आँखा चिम्लिदिंदा समस्या झन वढिरहेको छ।