पादरीको अन्त्येष्टिमा हजारौं सहभागी

  • 2 अगस्ट 2016

फ्रान्समा हत्या गरिएका पादरी ज्याक अमेलको अन्तिम संस्कारमा हजारौं मानिसले नर्मण्डीको रुआँ कथिड्रलमा उनीप्रति श्रद्धञ्जली अर्पण गरेका छन्।

फ्रान्समा एउटा अन्त्येष्टि समारोहमा मानिसहरु गत हप्ता नर्मण्डीको एउटा गिर्जाघरमा मारिएका वृद्ध पादरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

शहरका आर्कबिशपले सार्वजनिक समारोहको नेतृत्व गरेका थिए।

८५ वर्षीय पादरी ज्याक अमेलको शव एउटा निजी समारोहबीच समाधिस्थ गरिने छ।

अमेललाई गत हप्ता अतिवादीहरुले उनकै गिर्जाघरमा हत्या गरेका थिए।

प्रेम र करुणा

गत हप्ता फादर अमेलको गिर्जाघरभित्र छिरेर दुईजना मानिसले उनको घाँटी रेटेका थिए।

आन्तरिक मामिला मन्त्री बेनार काज्नोभ र वरिष्ठ रोमन क्याथलिक धर्मगुरुहरु समारोहमा उपस्थित थिए।

समारोहमा उनकी बहिनी रोजलीनले उनका ८५ वर्षीय दाजु प्रेम र करुणायुक्त भएको बताइन्।

मानिसलाई मार्ने आदेश दिनुपर्ने हुनाले अमेलले अल्जेरियामा सैनिक सेवाका क्रममा अधिकारीको पदको प्रस्ताव अस्वीकार गरेको पनि उनले बताइन्।

“आस्तिक र नास्तिक सबै मानिसमा प्रेम र सहिष्णुतालाई प्रोत्साहन दिनका लागि उनले ईश्वरको सेवा गर्न रोजेका थिए,” रोजलिनले भनिन्।

आक्रमणकारीहरु अबदेल मलिक पेटीजाँ र आडेल कर्मीशेले ईस्लामिक स्टेट भनिने समूहप्रति निष्ठा भएको बताएका थिए।

केही मानिसहरुलाई बन्धक बनाएपछि ती दुबैलाई प्रहरीले गोली हानेर मारेको थियो।

पेटीजाँका एकजना नातेदारलाई उनको आक्रमणको योजनाका बारेमा थाहा भएको अभियोगमा गिरफ्तार गरिएको छ।

पेटीजाँ संगै सिरिया जाने प्रयास गरेको आरोपमा अर्का एकजना पुरुषमाथि औपचारिक रुपमा अनुसन्धान गरिंदै छ।

धार्मिक स्थलमा फादर अमेलमाथि भएको आक्रमणले फ्रान्सलाई स्तब्ध तुल्याएको थियो।

निसमा बस्टिल डे मनाईरहेका मानिसमाथि ८४ जना मारिने गरी भएको आक्रमणको केही दिन पछि रुआँमा उक्त आक्रमण भएको हो।

कारवाही

अतिवाद विरुद्धको कारवाही अन्तर्गत फ्रान्सेली सरकारले २० वटा मस्जिद बन्द गर्ने घोषणा गरेको छ।

साउदी अरेबियाको अति अनुदारवादी वहाबी सम्प्रदायको प्रभाव बढिरहको विषयमा चिन्ताका माझ फ्रान्सले मुसलमान धार्मिक स्थललाई वैकल्पिक आयश्रोत प्रदान गर्नका लागि एउटा नयाँ प्रतिष्ठान स्थापना गर्ने योजना बनाइरहेको छ।

केही परिचित मुसलमानहरुको समूहले उक्त योजनाको समर्थन गरेको छ।

अब इस्लाम एउटा सार्वजनिक मुद्दा भएको र अहिलेको स्थिति असहनीय भएको भन्दै आफुहरुले बोल्नु पर्ने उनीहरुले बताएका छन्।

फादर अमेलको हत्यापछि एकता दर्शाउने हेतुले आइतबार फ्रान्सभरी मुसलमानहरु क्याथोलिक धार्मिक सभामा उपस्थित भएका थिए।