प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुको शपथ

  • 4 अगस्ट 2016

तस्वीर कपीराइट Reuters

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन्।

संसदीय प्रजातन्त्रको विरोधमा हतियार उठाएर एक दशकसम्म सशस्त्र द्वन्द्वको नेतृत्व गरेका प्रचण्ड संसदीय परम्परा बमोजिम दोस्रो पटक प्रधानमन्त्री बनेका हुन्।

पहिलो संविधान सभा निर्वाचनमा सबभन्दा ठूलो दल बनेपछि उनले करिब नौ महिना सरकार चलाएका थिए।

चर्चित सेनापति बर्खास्ती प्रकरणमा तत्कालीन राष्ट्रपतिसँग द्वन्द्व भएपछि नैतिकताको आधारमा राजीनामा दिएका प्रचण्डले पटक पटक प्रतिस्पर्धी बामपन्थी शक्ति एमालेलाई समर्थन गर्दै एमालेकै प्रधानमन्त्री बन्न सघाउँदै आएका थिए।

पोशाक

बारम्बार नेपाली कांग्रेसको विपक्षमा मत हाले पनि उनी यसपटक खासगरी संसदको सबभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेको हुन्।

तस्वीर कपीराइट epa

बिहिबारै राष्ट्रपतिबाट नेपाली कांग्रेसका विमलेन्द्र निधि र नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरालाई उप प्रधानमन्त्रीको शपथ लिएका छन्। त्यसैगरी कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका गौरी शंकर चौधरी र दलजीत श्रीपालीले शपथ लिएका छन्।

सामान्यत दौरा सुरवाल र कोटमा शपथ लिने परम्परा पहिलो पटक प्रधानमन्त्री हुँदा तोडेका प्रचण्डले यसपटक पनि कोट, पाइन्ट र भादगाउँले टोपी लगाएर शपथ लिएका थिए।

नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका रमेश लेखक बाहेक सबैले कमीज कोट र पाइन्ट लगाएका थिए।