ओलिम्पिक ज्योति रियो घुमाइँदै

  • 5 अगस्ट 2016
क्राइस्ट द रिडिमर तस्वीर कपीराइट AFP
Image caption ओलिम्पिक ज्योति रियो घुमाइंदा धेरै मानिसहरु उत्साहित भएका थिए

शुक्रबार अबेर माराकाना रंगशालामा हुने ओलिम्पिक्सको उद्घाटन कार्यक्रमलाई विश्वभरका लाखौं दर्शकले टेलिभिजन मार्फत हेर्ने अपेक्षा गरिएको छ।

ओलिम्पिक ज्योतिलाई रियोका प्रख्यात स्मारकदेखि न्यून आय भएका मानिसहरुको वस्तीमा समेत पु-याइदैछ।

माराकाना रंगशालामा हुने शुभारम्भ कार्यक्रमलाई विश्वभरका दर्शकले टेलिभिजनमा हेर्ने अपेक्षा गरिएको छ।

त्यसअघि ब्रजिलका अन्तरिम राष्ट्रपतिले ओलिम्पिक खेलहरुले ब्रजिलका जनतामाझ खुसी ल्याउने आशा व्यक्त गरेका थिए।

ओलिम्पिक ज्योति रियो शहर घुमाइंदा मानिसहरु उत्साहित भएका थिए र कतिपय त ज्योतिसंगै घुमेका थिए।

ओलिम्पिक ज्योतिलाई क्राइस्ट द रिडिमर र कोपाकबाना जस्ता प्रसिद्ध स्मारक क्षेत्रहरुमा पुराइएको थियो।

संकट

ब्रजिलका कतिपय नागरिकले आर्थिक मन्दी र राजनीतिक संकटमाझ ओलम्पिक खेलको आयोजनालाई फजुल खर्च भन्दै विरोध गरेका थिए।

अर्कोतिर ओलिम्पिक ज्योतिलाई कसले प्रज्वलित गर्ने छ भन्ने विषयमा धेरैले बाजी समेत थापेका विवरणहरु प्राप्त भएका छन्।

बाजी थाप्ने धेरैले प्रसिध्द ब्रजिली फुटबल खेलाडी पेलेले ओलिम्पिक ज्योति प्रज्वलन गर्ने अनुमान गरेका थिए।

तर प्रसिद्ध फुटबल खेलाडी पेलेले स्वास्थ्यको कारण आफुले ओलिम्पिक ज्योति प्रज्वलन गर्न नसक्ने जनाएका छन्।

ब्रजिलका अन्तरिम राष्ट्रपति मिशेल टमेरले ओलिम्पिक खेलले ब्रजिलका जनतालाई आफ्नो प्राकृतिक खुशी भेट्टाउन मद्दत पु-याउनेप्रति आफू विश्वस्त रहेको बताए।

उनले गहिरो आर्थिक र राजनीतिक संकट हुदाहुदै पनि ओलम्पिक खेलको आयोजना गर्न सक्नुले वाधा अडचन पार गर्न सक्ने ब्रजिलको क्षमता प्रदर्शन गरेको बताए।

पक्राउ

केही बेरअघि प्राप्त समाचार अनुसार खेलको तयारी भइरहँदा रियोको ओलिम्पिक ग्राममा बुधबार दुई महिला सफाइ कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोरक्कोका एक बक्सिङ खेलाडीलाई पक्राउ गरेका छन्।

हसन साडालाई रियोका एक न्यायाधीशले अनुसन्धानका लागि हसन साडालाई पन्ध्र दिन थुनामा राख्न आदेश दिएका छन्।

उनीले टर्कीका मुक्केबाजसँग शनिबार पहिलो खेल खेल्ने कार्यक्रम थियो।