रियोमा रुसी टोलीका अधिकांश खेलाडीले खेल्ने

  • 5 अगस्ट 2016
तस्वीर कपीराइट BBC CHINESE

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आइओसीले भनेको छ, रियो ओलिम्पिक्समा खेल्न रुसका २ सय ७१ खेलाडीहरु योग्य भएका छन्।

खेलाडीको यो संख्या रुसले सुरुमा पठाएको ३ सय ८९ को सूचीको दुइतिहाइ भन्दा बढी हो।

वर्ल्ड एन्टाइ डपिङ एजेन्सी वाडाले डपिङ अर्थात अवैध औषधि प्रयोगको काण्डमा रुसलाई यसअघि ओलिम्पिक्सबाट पूर्ण रुपमा प्रतिबन्ध लगाउन सुझाव दिएको थियो।

ओलिम्पिक्सको उद्घाटन समारोह शुक्रबार हुँदैछ।

प्रतिस्पर्धा

रुसको ओलम्पिक कमिटीले भनेको छ, उसको टोलीका अधिकांश खेलाडीले रियो ओलिम्पिक्समा खेल्न अनुमति पाउने छन्।

जम्मा ३ सय ८७ मध्ये २ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्न पाउने स्पष्ट भइसकेको छ।

उक्त कमिटीका अध्यक्ष एलेक्जेन्डर झुकफले भनेका छन्, रियो २०१६ मा रुसको टोली बेदाग हुनेछ।

उनले भने, "आज हामीसँग रुसी टोलीको समर्थकहरुका लागि खुशीको खबर छ। मलाई लाग्छ तपाइँहरु सबै यो खबर सुन्नका लागि आतुर हुनुहुन्थ्यो। म तपाइँहरुलाई भन्न चाहन्छु हाम्रा बहुसंख्यक खेलाडीहरुले रियो द जनिरोमा हुने ओलम्पिक खेलमा पूर्ण सहभागितासहित भाग लिनेछन्।"

झुकफले रुसी समूहले थुप्रै परिक्षणहरुको सामना गर्दै पार पाउन परेकाले उनीहरुले ओलिम्पिक्सका लागि निकै कठिन परिक्षाको अनुभव गरेको हुनसक्ने बताएका छन्।

त्यसबाहेक, रुसी खेलाडीहरुले ओलम्पिक भिलेजमा भइरहेका थप परिक्षण समेत बेहोरिरहेकाले उनीहरु सम्भवत अहिलेसम्मकै सबैभन्दा बेदाग समूह हुनसक्ने झुकफले बताए।

आग्रह

वर्ल्ड एन्टाइ डपिङ एजेन्सी वाडाले राज्य प्रायोजित ढंगले अवैध औषधि प्रयोग गरिएको भन्दै रुसका सबै खेलाडीमाथि प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो।

वाडाले स्वतन्त्र रुपमा दिएको रिपोर्टले रुसी खेलाडिहरुले राज्य प्रायोजित ढंगबाट खेल उकास्ने ठानिएका अवैध औषधि प्रयोग गरेको देखाएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले छुट्टाछुट्टै खेल महासंघहरुलाई रुसी खेलाडिहरुले रियो गेम्समा खेल्न पाउने कि नपाउने भन्नेबारे निर्णय गर्न आग्रह गरेको थियो।

आइओसीको तीन सदस्यीय समितिले १८ जना शुटर, ११ जना बक्सर, ११ जना जुडो खेलाडी, ८ टेनिस खेलाडिलाई रियो गेम्समा खेल्न पाउने घोषणा बिहीबार गरेको थियो।

रुसी समाचार संस्था आरस्पोर्टले भनेको छ, २९ जना पौडि खेलाडीहरु र क्यानोइङका विश्व च्याम्पिएन आन्द्रे क्रेइटरले पनि रियो गेम्समा प्रतिस्पर्धा गर्न पाउने छन्।

अन्तर्राष्ट्रिय वेटलिफ्टिङ महासंघले सबै आठ रुसी खेलाडिहरुलाई गतसाता खेल्नबाट वञ्चित गरेको थियो।

खेल विवाद निरुपण गर्ने उच्च संस्था कोर्ट अफ आर्बिट्रेशन अफ स्पोर्टसले उनीहरुमाथिको प्रतिबन्ध जायज भएको निर्णय सुनाएको थियो।