रणनीतिक शहरमाथि गठबन्धनको कब्जा

  • 6 अगस्ट 2016
तस्वीर कपीराइट Reuters

अमेरिका समर्थित कुर्दिश र अरब लडाकुहरुको एउटा गठबन्धनले तथाकथित इस्लामिक स्टेटको नियन्त्रण रहेको सिरियाको रणनीतिक शहरमाथि ‘लगभग पूर्णरुपमा’ कब्जा गरेको छ।

टर्कीको सीमादेखि दक्षिणमा पर्ने मेन्बिज शहर दुई देशको सडक जोडिएको क्षेत्रमा पर्दछ।

उक्त शहरमाथि आइएसले साढे दुई वर्षभन्दा बढी समयदेखि नियन्त्रण कायम गरेको थियो।

ब्रिटेनस्थित एउटा पर्यवेक्षक समूहका अनुसार मेन्बिजको मध्य क्षेत्रमा अझै आइएसका केही लडाकुहरु छन्।

कारबाही

अमेरिका समर्थित शक्तिशाली कुर्दिश लडाकुहरु संलग्न सिरियन डेमोक्रेटिक फोर्सेजले उक्त शहरलाई आइएसबाट कब्जामा लिन दुई महिनाअघि कारबाही थालेको थियो।

आइएस लडाकुहरुको अखडा रहेको एउटा क्षेत्रमा गठबन्धनले कारबाही गर्दा अमेरिकाले हवाई आक्रमण गरी सघाएको थियो।

तस्वीर कपीराइट Reuters

भारी भिडन्तपछि गत जुन महिनादेखि मेन्बिज घेराबन्दीमा थियो र पूर्णरुपमा अन्य क्षेत्रसँग उक्त शहरको सम्पर्क टुटेको थियो।

शहर नजिकैको एउटा गाउँमा मानिसहरु भागेर पुगेका बेला अमेरिकी सेनाले गत जुलाइमा गरेको हवाई हमलामा ११ बालबालिकासहित कैयौं सर्वसाधारण मारिएका थिए।

त्यसबेला राष्ट्रसंघीय मानअधिकार उच्चायुक्तले बिग्रदो अवस्था रहेको मेन्बिज ७० हजार सर्वसाधारण फसेको बताएका थिए।

महत्वपूर्ण

सिरियामै रहेका मानिसहरुबाट विवरण लिने गरेको ब्रिटेनस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आफ्नो एउटा रिपोर्ट जनाएअनुसार आइएस लडाकुहरु अहिले उक्त शहरबाट धपाइंदैछन्।

विद्रोही गठबन्धनका एकजना प्रवक्ता शर्फान दारविशले समाचार संस्था रोएटर्सलाई बताएअनुसार लडाइँ जारी छ र शहरको ९० प्रतिशत जति भूभागबाट आइएस लडाकुहरुलाई हटाइसकिएको छ।

इस्लामिक स्टेटको पकड रहेको रक्का शहरदेखि टर्कीको सीमासँग र सिरियाको एलेप्पो प्रान्तका आइएस नियन्त्रित अन्य क्षेत्रसँग मेन्बिज सडकले जोडिएको शहर हो।

आइएस लडाकुहरुका गतिविधि सञ्चालन गर्न तथा सिरियाभित्र र बाहिर हतियार लगायत सामान ओसारपसारका निम्ति ती मार्गहरुको महत्वपूर्ण भूमिका रहेको छ।