‘ढाकामा उद्धार गरिएका नेपाली फर्किँदै’

  • 7 अगस्ट 2016
तस्वीर कपीराइट Google Maps

बांग्लादेशमा प्रवेशाज्ञाको म्याद सकिएका ४४ जनालाई उद्धार गरी भारतको बाटो हुँदै नेपाल फर्काइरहेको नेपाली अधिकारीहरुले जनाएका छन्।

बांग्लादेशका अधिकारीहरुले उनीहरुलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन लागेको बताएका थिए।

उनीहरु रेष्टुरेण्ट र क्लब जस्ता व्यवसायमा संलग्न रहेको र एकजना बांग्लादेशीले ठगेको देखिएको ढाकास्थित नेपाली राजदूतावासले बताएको छ।

राजधानी ढाका पुगेका ५४ जनामध्ये केही पहिल्यै फर्किएको र प्रवेशाज्ञाको म्याद बाँकी रहेका एकजना शनिबार र एकजना आइतबार जहाजबाट फर्किने व्यस्था मिलाइएको नेपाली अधिकारीको भनाई छ।

गैरकानुनी

ढाकास्थित बांग्लादेशी प्रहरी अधिकारी दादन फकिरले बीबीसीलाई भनेका थिए कि भारतसँगको सीमाना बेनापोल हुँदै बांग्लादेश पुगेका अन्य ४४ जना जुन १९ तारिखदेखि गैरकानुनी रुपमा बसिरहेका थिए।

ढाकास्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीले भने, “उहाँहरु बसमा कोलकोताबाट भारतको सिलिगुढीतिर जानुभएको छ, आइतबार झापाको काकरभिट्टा पुग्नुहुन्छ होला।”

उनका अनुसार तीमध्ये केहीको अमेरिका र युरोपेली देशको प्रवेशाज्ञा पनि छ।

नेपाल समेत आवतजावत समेत गर्ने बांग्लादेशी वालिदुल्लाहलाई घटनाका सिलसिलामा गिरफ्तार गरिएको छ।

शंकास्पद

उनले आफ्नै देशका नागरिकलाई समेत ठगेको र प्रवेशाज्ञाको म्याद थप गराइदिने भन्दै नेपालीको पासपोर्ट लामो समयसम्म राखेको देखिएको जनाउँदै कार्यवाहक राजदूत ओलीले भने, “नेपालमा डाक्टरको परिचयपत्र समेत देखाउने ऊ बढी नै शंकास्पद देखिएको छ।”

उनका अनुसार अहिले बन्द हुन पुगेको एउटा कारोबारको आम्दानीमा उनले मनपरी गरेपछि विवाद उत्पन्न भएको देखिन्छ।

स्थानीय ब्याङ्कका एकजना अध्यक्षसँगको कारोबारमा केही नेपाली पनि संलग्न रहेको तथा केही तालिम दिन वा काम गर्न त्यहाँ पुगेको हुनसक्ने नेपाली अधिकारीको अनुमान छ।

तर लगानी डुबेको कसैले दावा नगरेको भन्दै दूतावासले नेपालीले पारिश्रमिक नपाएको हुनसक्ने बताएको छ।