क्वेटामा बम विस्फोटः कम्तीमा ७० को मृत्यु

  • 8 अगस्ट 2016
तस्वीर कपीराइट AFP

पाकिस्तानको क्वेटा शहरस्थित एउटा सार्वजनिक अस्पतालमा गराइएको आत्मघाती बम हमलामा कम्तीमा ७० जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्।

मारिनेहरुमध्ये कम्तीमा १८ जना वकिल छन्, जो विस्फोटको केही बेरअघि गोली हानी हत्या गरिएका आफ्ना वरिष्ठ सहकर्मी बिलाल अन्वर कासीप्रति श्रद्धाञ्जली दिन जम्मा भएका थिए।

अस्पतालको आकस्मिक शाखाको प्रवेशद्वारमा बम विस्फोट गराइएको थियो।

विस्फोटमा मारिनेहरुमा पत्रकार समेत रहेको बताइएको छ।

आशंका

विस्फोटपछि गोली चलेको थियो।

आक्रमणकारीहरुबारे थाहा हुन सकेको छैन।

एकजना आत्मघाती आक्रमणकारीले बम राखेको हुन सक्ने प्रहरीको आशंका छ।

जियो टेलिभिजनका अनुसार क्वेटामा अदालतको मुख्य भवन जान लाग्दा बलुचिस्तान बार असोसिएशनका अध्यक्ष समेत रहेका कासीमाथि गोली प्रहार गरिएको थियो।

बलिदानी

तस्वीर कपीराइट AFP

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले आक्रमणको निन्दा गरेका छन्।

उनले भने, “कसैलाई पनि यो प्रान्तको शान्तिमा खलल पुर्याउन दिइनेछैन। बलुचिस्तानका जनता, नीति र सुरक्षा फौजले मुलुकका लागि बलिदानी दिएका छन्।”

बलुचिस्तान प्रान्तका मुख्यमन्त्री सनाउल्लाह जहरीले घाइतेहरुको उत्कृष्ट उपचार र सुविधाहरु दिइने बताएका छन्।

क्वेटामा पछिल्ला साता पृथकतावादी, साम्प्रदायिक र अपराधसँग सम्बन्धित आक्रमणमा कैयौं मानिसहरु मारिएका छन्।