टर्कीका राष्ट्रपतिको रुस भ्रमण

  • 9 अगस्ट 2016
तस्वीर कपीराइट AP

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रेजेप तायिप एर्दोआनसंगको भेटमा रुसले टर्कीसंग आर्थिक सहकार्य लगायतका सम्बन्धहरु पुनर्स्थापना गर्न तयार भएको बताएका छन्।

टर्कीमा गत महिना भएको कूको असफल प्रयासपछि यो एर्दोआनको पहिलो विदेश भ्रमण हो।

सेंट पिटर्सबर्गमा भएको उक्त भेटमा एर्दोआनले पुटिनलाई असफल कू लगत्तै फोन सम्पर्क गरेकोमा धन्यवाद दिएका थिए।

गत वर्षको नोभेम्बर महिनामा सिरियाको सीमाना नजिकै टर्कीले एउटा रुसी विमानलाई गोली हानेर खसालेपछि रुस र टर्कीबीचको सम्बन्ध बिग्रिएको थियो।

'चिसिएको सम्बन्ध'

कूको प्रयासमा संलग्न भएको आरोपमा एर्दोआनले गरेको कारवाहीलाई लिएर टर्की र पश्चिमा मुलुकहरुबीचको सम्बन्ध चिसिएको सन्दर्भमा एर्दोआनले रुसको भ्रमण गरेका हुन्।

एर्दोआनले अमेरिकामा रहेका धर्मगुरु फेतुल्लाह गुलेनलाई कूको योजना बनाएको आरोप लगाउँदै उनको सुपुर्दगी गर्न अमेरिकालाई आग्रह गरेका थिए भने अमेरिकाले त्यसका निम्ति प्रमाण आवश्यक रहेको बताएको छ।

बीबीसीकी साराह रेन्सफोर्ड भन्छिन्, पुटिनले एर्दोआन र पश्चिमा मुलुकहरु बीच चिसिएको सम्बन्धको फाइदा उठाउन खोजिरहेका छन्।

भ्रमण शुरु गर्नु अघि एर्दोआनले रुसी राष्ट्रपति पुटिनलाई आफ्नो 'साथी' भन्दै रुससंगको सम्बन्धमा नयँ पृष्ठ शुरु गर्न चाहेको बताएका थिए।

वार्तामा आर्थिक सहकार्य र आतंकवादको सामना लगायतका विभिन्न विषयमा कुरा गरिने पुटिनले बताएका थिए।

बिग्रिएको सम्बन्धले टर्कीको व्यापारलाई ठूलो धक्का पुर्याएको थियो र दुईवटा ठूला संयुक्त उर्जा परियोजनाहरु स्थगित गरिएका थियो।

सकारात्मक चरण

तस्वीर कपीराइट AFP

तर हालका केही महिनामा सम्बन्ध सुधार भैरहेको संकेत देखा परेका छन्।

गत महिना रुसले टर्की जाने यात्रुवाहक विमान सेवा फेरि शुरु गरेको थियो।

गत जुन महिनामा एर्दोआनले विमानलाई आक्रमण गरेकोमा माफी मागेको र दिवंगत विमानचालकको परिवारप्रति समवेदनाको सन्देश पठाएको क्रेमलिनले बताएको थियो।

गत महिना टर्कीमा कूको प्रयास भएपछि पुटिनले एर्दोआनप्रति समर्थनको अभिव्यक्ति दिएका थिए।

राजनीतिक विरोधीमाथि एर्दोआनको कारवाहीको उनले आलोचना पनि गरेनन्।

त्यसभन्दा अघि विभिन्न विषयमा टर्की र रुस बीच तनाव बढेको थियो।

रुस र टर्कीले सिरियाको गृहयुद्धमा परस्पर विरोधी पक्षलाई समर्थन गर्दछन् र उनीहरुले आतंकवादी भनिएका समूहलाई सहयोग गरेको आरोप विगतमा एक अर्कालाई लगाएका थिए।