अर्थतन्त्रमा फड्को मार्ने ट्रम्पको वाचा

  • 9 अगस्ट 2016
तस्वीर कपीराइट AP

रिपब्लिकन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पले यदि आफूले चुनाव जिते पूर्वराष्ट्रपति रोनल्ड रेगन यताकै सबैभन्दा ठूलो कर क्रान्ति ल्याउने वाचा गरेका छन्।

डेट्रोइटमा बोल्दै ट्रम्पले यदि आफूले नोभेम्बरको राष्ट्रपतीय चुनाव जिते अमेरिकी अर्थतन्त्रमा फड्को मार्ने बताएका हुन्।

उनले बोलिरहँदा दर्शकदीर्घामा रहेका प्रदर्शनकारीहरुले कार्यक्रममा पटकपटक अवरोध पुर्याइरहेका थिए।

ट्रम्पले आफ्नै पार्टीभित्रैबाट र डेमोक्रेट्सहरुबाट निरन्तर विरोध खेपिरहेका छन्।

योजना

ट्रम्पले नयाँ नियमहरु खारेज गरेर र 'कर्पोरेट' करमा कटौती गरेर अमेरिकी अर्थतन्त्रमा फड्को मार्ने आफ्नो योजना रहेको बताएका छन्।

'रियल स्टेट'का शक्तिशाली व्यापारी ट्रम्पले आफ्नो पूर्व योजनालाई संशोधन गर्दै बालबालिकाको रेखदेख गर्ने करमा कटौती र जग्गा खरिदमा लाग्ने कर अन्त्य गर्ने बताएका हुन्।

उनले भने, "हामी विश्वसँग प्रतिस्पर्धा गरिरहेका छौं र म चाहन्छु अमेरिकाले जितोस्। हामीले अहिले जितेका छैनौं तर जब म राष्ट्रपति हुन्छु हामी फेरि जित्न सुरु गर्छौं।"

मिसिगन राज्यको डेट्रोइटमा ‌भएको ट्रम्पको कार्यक्रममा कयौं प्रदर्शनकारीहरुले अवरोध पुर्याएका थिए।

दाबी

चुनावी प्रचारप्रसार आर्थिक मुद्दाहरुमा केन्द्रित गर्ने उद्देश्यले गरिएको थियो, जसलाई उम्मेदवारको बलियो पक्षको रुपमा हेरिन्छ।

उनको यो पछिल्लो योजना खासगरी गरिब अमेरिकीहरुलाई अपिल गर्न ल्याइएको हो जो परिवर्तित अर्थतन्त्र र घट्दो तलबबाट आफूहरु पछाडि परेको महसुस गर्छन्।

उत्तर अमेरिकाको खुल्ला व्यापार सम्झौतामा पुन: वार्ता गरेर वा करमा सुधार गरेर लाखौं नयाँ रोजगारीका अवसर सिर्जना गर्ने पनि उनले दाबी गरे।

हालैका साताहरुमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टन, चुनावी सर्वेक्षणमा स्पष्ट रुपमा अगाडि देखिएपछि ट्रम्पले आफ्नो पहिलेको गति हासिल गर्ने प्रयास गरिरहेका छन्।