ओलिम्पिकमा अन्धविश्वास

  • 11 अगस्ट 2016
तस्वीर कपीराइट AP

थुप्रै क्यामेराले खिचेका दृश्य अनि कम्प्युटर प्रोग्राममार्फत प्रतिद्वन्द्वीका एक, एक चाल र खेल शैली बुझ्ने प्रविधि उपलब्ध हुने हुँदा भलिबल एउटा यस्तो खेल बनेको छ जसले जितका निम्ति प्रविधिको उपयोगमा निकै ध्यान दिएको छ।

तर सन् २०१२ को लन्डन ओलिम्पिक्सका बेला ब्रजिलको महिला भलिबल टोलीका प्रशिक्षक जोजे रोबेर्टो गिमारेइज ओलिम्पिक ग्रामको प्रवेशद्वारमा शारिरिक अपांगता भएका एक व्यक्ति भेट्दा उत्साहित भए।

खेलस्थलमा मेरुदण्डमा पोका निस्किएका उक्त व्यक्तिको उपस्थितिले आफ्नो टोलीको विजय हुने उनले ठाने।

सन् १९९२ मा उनी ब्रजिलको पुरुष भलिबल टोलीको प्रशिक्षक थिए।

बार्सिलोनामा भएको उक्त ओलिम्पिक प्रतियोगितामा ब्रजिलले भलिबलमार्फत पहिलोचोटी समूह खेलमा स्वर्ण पदक प्राप्त गर्यो।

त्यतिखेर आफुले उक्त शहरको एक रेस्टुरेन्टमा खान जाँदा त्यस्तै प्रकृतिको शारिरिक अपांगता भएका व्यक्तिले बेराको रुपमा आफुलाई सेवा दिएको उनी सम्झिन्छन्।

बीस वर्षपछि त्यस्तै भाग्यशाली संकेत पाएको उनले ठाने।

गिमारेइज र उनका अन्धविश्वासको स्तरबाट हेर्दा पनि यो घटना अलि बढी नै अन्धविश्वासी देखिन्छ।

तस्वीर कपीराइट BBC CHINESE

उनले सन् १९९२ को बार्सिलोना खेलमा आफ्नो टोलीको जितको श्रृंखला तोडिने भयले एक खेलाडीलाई दाह्री काट्नबाट समेत रोकेका थिए।

अन्धविश्वासको दुनियाँ

ओलिम्पिक्सको दुनियाँमा थुप्रै खेलाडी, प्रशिक्षक तथा अधिकारीहरु यस्ता अन्धविश्वासमा भर परेको देखिन्छ।

त्यस्ता अन्धविश्वासमध्ये खेल अघि गरिने केही आश्चर्यजनक कार्य पनि पर्छन्।

अमेरिकाका विख्यात पौडीबाज माइकल फेल्पस खेल शुरु हुने ब्लकमा उक्लनु अगाडि जहिले पनि आफ्ना हात घुमाएर कम्तीमा तीन फन्का लगाउँछन्।

जापानका घोडचढी योशियाकी ओइवाले खेल अघि आफू र आफ्नो घोडामाथि नुन छर्कने गर्छन्।

अमेरिकी भारोत्तोलक मोर्गन किंगले प्रतियोगिताभर एकै प्यान्ट र मोजा लगाउने गर्छिन्।

हरेक प्रतियोगिता अगाडि ती पोशाक राम्रोसंग धोइएको हुने उनी बताउँछिन्।

लन्डन ओलिम्पिककी च्याम्पियन ब्रिटेनकी साइक्लिष्ट लउरा ट्रट हरेक रेस अगाडि सफा मोजा लगाएर भिजेको रुमालमा टेक्छिन्।

जुनियर विश्व च्याम्पियनशीपका बेला संयोगवश उनले भिजेको रुमालमा टेकेकी थिइन्।

सो खेल जितेपछि उनले यसलाई एउटा लक्षणको रुपमा लिइन्।

कतिपय खेलाडीले आफ्नो भाग्य बढ्ने विश्वासमा साना खेलौना वा ‘लच्छिनको’ वस्तु भिर्ने गर्छन्।

रियो प्रतियोगितामा सहभागी अष्ट्रेलियन रग्बी खेलाडी इभानिया पेलिटले हावा फुक्न मिल्ने कंगारु बोक्ने गर्छिन्।

व्याप्त

यी धेरै उदाहरणहरुले यस्ता अन्धविश्वास कुनै विशेष खेल विधाभन्दा पनि सबै खेलकूदमा लागु हुने देखाउँछन्।

यो विषयलाई खेल विज्ञहरु निकै गम्भीरतका साथ लिन्छन्।

तस्वीर कपीराइट BBC CHINESE

कतिपय अध्ययनले अनिश्चयताको सामना गर्ने बेला यस्ता अन्धविश्वासले खेलाडीको मनोबल उच्च पार्न मद्दत पुग्ने देखाएका छन्।

यसका स्पष्ट दुई फाइदा छन्। एक, तिनले मनलाई नकारात्मक सोचबाट टाढा पुर्याउँछ र डर भगाउँछ। दोस्रो, यसले खेलाडीलाई स्थिति आफ्नो नियन्त्रणमा छ भन्ने एक किसिमको भान पुग्छ।

“मनोविज्ञानको भाषामा हामी यसलाई नियन्त्रणको बाहिरी केन्द्र भन्छौं जसले प्रदर्शनलाई बाह्य पक्ष, जस्तो कि कुनै कार्य वा वस्तुले, प्रभाव पार्छ भन्ने विश्वास दिलाउँछ। अनि यो धार्मिक विश्वाससंग सम्बन्धीत हुँदैन। कुनै खेलाडीले भगवान सम्झेर नमन गरेको नभई कुनै खास रंगको मोजा लगाउँदा खेल राम्रो हुने विश्वास लिएको बारे हामी चर्चा गर्दैछौं,” साओ पाउलोस्थित क्याम्पिनास विश्वविद्यालयकी खेल मनोविज्ञान सम्बन्धी अध्ययन समूहकी संयोजक पाउला टेक्सेरा फर्नान्डेजले बताइन्।

उनका अनुसार यस्ता अन्धविश्वास टेनिस वा जिम्नास्टिक्स जस्ता खासगरी व्यक्तिगत खेलका खेलाडीहरुमा धेरै देखिन्छ, तर समूहगत खेलिने बास्केटबल वा भलिबलमा पनि यस्ता घटना नदेखिने भने होइनन्।

तर कतिपय विज्ञहरु खेलाडीमाझ यस्ता अन्धविश्वासलाई प्रोत्साहन गर्न नहुने ठान्छन्।

लण्डनस्थित मानसिक क्षमताबारे प्रशिक्षण दिने सस्ता इन्नरड्राइभले प्रिमियर लिग फुटबल खेलाडीहरुलाई खेल प्रदर्शनलाई प्रत्यक्ष प्रभाव पार्ने पक्षहरुमा ध्यान दिन प्रोत्साहन दिने गर्छ।

उक्त संस्थाका संस्थापक ब्र्याड्ले बुश भन्छन् खेलाडीका निम्ति उत्तम तरीका भनेको उनीहरुले आफ्ना शारिरिक तन्दुरुस्तीका समयतालिका समीक्षा गरेर आफुले आराम महसुस कसरी गर्न सकिन्छ भन्ने पत्ता लगाउनुपर्छ।

“यदी कसैले तिनले लच्छिनको ठान्ने गरेको मोजा बिर्सिए भने त्यसैले तिनमा अनावश्यक तनाव सिर्जना गर्छ। जुन चीजले प्रदर्शन सुधार्ने ठानिन्थ्यो त्यसैले गम्भीर समस्या पैदा गरिदिन्छ,” बुशले भन्ने गर्छन्।

मनोवैज्ञानिकहरुले वास्तविकतामा ध्यान दिन पनि सजग गराएका छन्।

“यदी कोही खेलाडी राम्रो शारिरिक अवस्थामा छैनन् भने जतिसुकै साईत वा लच्छिनका वस्तु बोके पनि तिनले पदक दिलाउँदैनन्,” फर्नान्डेजको निचोड छ।

त्यसको उदाहरण? माइकल फेल्प्सले २५ वटा ओलिम्पिक पदक जितेका छन्। तर ती मध्ये चारवटा त स्वर्ण पदक थिएनन् नी…