केन्याका दौड प्रशिक्षक रियोबाट फिर्ता

  • 12 अगस्ट 2016

रियो ओलिम्पिक्स खेलमा केन्याको एथलेटिक्स समूहका दौडका प्रशिक्षकलाई छलकपट गरेको आरोपमा फिर्ता पठाइएको छ।

८ सय मिटरतर्फको दौडमा जन अन्ज्रले खेलाडी फरगसन रोटिचको रुपमा आफुलाई प्रस्तुत गरेको र उनकै नाममा पिसाबको नमुना दिएको अभियोग लागेको छ।

केन्याका ओलिम्पिक प्रमुख किप किइनोले उनको संगठनले त्यस्तो व्यवहार नसहने बताएका छन्।

अन्ज्र अहिलेसम्म फिर्ता पठाइने दोस्रो केन्याली अधिकारी हुन्।

कारण

केन्याका खेल प्रशिक्षक जन अन्ज्रले खेलाडीको रुपमा आफूलाई प्रस्तुत गरेर पिसाबको नमुना दिएपछि उनलाई रियोबाट फिर्ता पठाइएको हो।

केन्याले भनेको छ, दौडका प्रशिक्षक जन अन्ज्रले आफूलाई, ८ सय मिटरतर्फ पदक जित्ने आशा गरिएका खेलाडी फरगसन रटिचको रुपमा प्रस्तुत गरेका हुन्।

फरगसन रटिचले गत वर्ष बेइजिङमा भएको वर्ल्ड च्याम्पिएनसिपमा चौथो स्थान हासिल गरेका थिए।

उनी शुक्रबार रियो ओलिम्पिक्समा प्रतिस्पर्धा गर्दैछन्।

खेलाडीका एजेन्टले भनेका छन्, अन्ज्रलाई भित्र छिर्नका लागि फरगसनले आफ्नो पास दिएका थिए, ताकि प्रशिक्षकले ओलिम्पिक भिलेजमा बिहानीको खाना निशुल्क पाउन्।

औषधि नियन्त्रक अधिकारीले रटिचलाई पिसाब परिक्षणका लागि खोजिरहेका थिए।

६१ वर्षीय अन्ज्रलाई त्यसपछि औषधी नियन्त्रक अधिकारीले बोलाएर पिसाबको नमुना दिन आग्रह गरे र प्रशिक्षकले आफैं दिए।

जनले औषधी प्रयोगसम्बन्धी परिक्षणका लागि आवश्यक कागजातमा हस्ताक्षर समेत गरेका थिए।

असह्य

केन्याको राष्ट्रिय ओलिम्पिक कमिटीका प्रमुख किप केइनोले त्यस्तो व्यवहार असह्य भएको बताएका छन्।

केइनोले आफूहरुले अन्ज्रलाई ब्रजिल नपुर्याएको र उनी कसरी त्यहाँ पुगे भन्ने पनि थाहा नभएको बताए।

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीले उक्त विषयमा अनुशासनको कारबाही सुरु गरेको छ।

तर केन्याको ओलिम्पिक निकायले कारवाहीका लागि तत्कालै जनाएको प्रतिक्रियाको प्रशंसा गरेको छ।

ट्र्याक एन्ड फिल्ड व्यवस्थापक माइकल रटिचपछि औषधिको प्रयोगको घटनामा देश फिर्ता पठाइने अन्ज्र दोस्रो केन्याली अधिकारी हुन्।

केन्याका ट्रयाक तथा फिल्ड व्यवस्थापकलाई लागूऔषधिको परिक्षणमा सूचना दिँदा घुस लिएको आरोप लागेको थियो।

केन्याका थुप्रै खेलाडीहरु परिक्षणमा विफल भएका छन् र वर्ल्ड एन्टाइ डपिङ एजेन्सीले गत सातामात्रै केन्यालाई नियम उल्लंघन गर्ने राष्ट्रको सूचीबाट हटाएको थियो।