म्यानबिजका बासिन्दा नियन्त्रण मुक्त

  • 13 अगस्ट 2016
तस्वीर कपीराइट Reuters

तथाकथित इस्लामिक स्टेटले मानव ढालका रुपमा प्रयोग गर्दै आएको सिरियाको उत्तरी शहर म्यानबिजका बासिन्दाहरु मुक्त भएका छन्।

अमेरिकाले साथ दिएको सिरियन डेमोक्रेटिक फोर्सेजले शुक्रबार म्यानबिज शहरमाथि कब्जा गरेको थियो।

त्यहाँबाट आइएसका लडाकुहरु भागेका छन्।

म्यानबिजका कतिपय बासिन्दाहरु मानव ढालका रुपमा प्रयोग हुँदै आएका थिए।

खुसियाली

तर आइएससँग सम्बद्ध भएकोले कतिपय बासिन्दाहरु स्वेच्छिक रुपमा पनि गएको हुन सक्ने बताइएको छ।

शहरबाट आइएस लडाकुहरुलाई धपाइएपछि म्यानबिजका बासिन्दाहरु सडकमा निस्केर खुसियाली मनाइरहेका छन्।

लडाकुहरुले बलजफ्ती दाह्री पाल्न लगाएको भन्दै पुरुषले दाह्री काटेका छन् भने केही महिलाहरुले आफ्ना बुर्का जलाइरहेका छन्।

विगत दुई वर्षयता दाह्री काट्न र चुरोट खान नपाउने लगायतका आभारभूत अधिकारबाट पनि उनीहरु बञ्चित थिए।

अमेरिका समर्थित कुर्दिश र अरब लडाकुहरुले टर्कीको सीमादेखि नजिक पर्ने म्यानबिज शहरलाई आइएसबाट नियन्त्रण मुक्त गराउनका निम्ति ७३ दिन लडाइँ गरेका थिए।

अमेरिकाले आइएसविरुद्धको लडाइँमा हवाई हमला गरी कुर्दिश र अरब लडाकुलाई सघाएको थियो।

ओसारपसार

तस्वीर कपीराइट Reuters

सिरियाभित्र र बाहिरबाट गतिविध सञ्चालन गर्न र हतियार ओसारपसार गर्नका निम्ति म्यानबिज महत्वपूर्ण मार्ग बनेको थियो।

घेराबन्दीमा रहेको दोस्रो शहर एलेप्पो र आइएसको राजधानी राक्का पुग्न त्यहीं बाटो भएर जानुपर्छ।

ब्रिटेनस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार आइएस लडाकु र सर्वसाधार सवार करिब ५०० कारहरु म्यानबिजबाट बाहिरिएका छन्।

उनीहरु टर्कीको सीमासँग जोडिएको आइएस नियन्त्रित उत्तर-पूर्वी जाराब्लस शहरतर्फ लागेका थिए।

विपक्षी लडाकुले आफूहरुको जीतले आइएस लडाकुहरु युरोप पुग्ने मार्ग विच्छेद गरिदिएको बताएका छन्।

सिरियन कुर्दिश नेता सालिह मुस्लिमले भने, “म्यानबिज मुक्त भएसँगै आइएसका सदस्यहरु सजिलैसँग युरोपबाट आउन र त्यता जान सक्ने छैनन्।”