अपहरित नाइजेरियन बालिकाहरु भिडियोमा

  • 14 अगस्ट 2016
तस्वीर कपीराइट Boko Haram

नाइजेरियाको इस्लामवादी समूह बोको हरामले चिबोक शहरबाट अपहरण गरिएकामध्ये केही स्कूले छात्रा भएको दाबीसहित भिडियो सार्वजनिक गरेको छ।

टाउकोमा स्कार्फ लगाएका करिब ५० जना छात्रा एकजना लडाकुको पछाडि उभिरहेको भिडियो फुटेजमा देखिन्छ।

ती छात्राहरुलाई मुक्त गर्ने बदलामा आफ्ना लडाकुहरुलाई रिहा गर्नुपर्ने उक्त समूहले माग गर्दै आएको छ।

उक्त समूहले नाइजेरियाको उत्तरी शहर चिबोकबाट २ सय ७६ जना छात्रालाई उनीहरुको विद्यालयबाट अपहरण गरेको थियो।

नाटकीय

उनीहरुमध्ये २ सय १९ जना अझै उक्त समूहको नियन्त्रणमै रहेको बताइन्छ।

अपहरणमा परेयता उनीहरु भएको भनिएको यो तेस्रो भिडियो हो।

पाखुरामा बन्दुक झुण्ड्याएका एकजना लडाकुले नाटकीय ढंगले ती छात्राहरुमध्ये एकजनासँग अन्तर्वार्ता लिइरहेको भिडियोमा देखिन्छ।

अन्तर्वार्ता दिने छात्राले आफ्नो नाम माइदा याकुबु भएको र आफू चिबोकको भएको बताएकी छन्।

सरकारलाई जेलमा रहेका लडाकुहरुलाई रिहा गर्नका निम्ति ती छात्रालाई आग्रह गर्न लगाइएको जस्तो भिडियोमा देखिन्छ।

काबाकु भाषामा उनले भनेकी छन्, “म के भन्न सक्छु भने हाम्रा अभिभावकहरुले साहस गर्नुपर्छ। सरकारसँग तपाईंहरुले कुरा गर्नुस् ताकि हामीलाई घर फर्किन अनुमति दिइयोस्।”

दुर्व्यवहार

पृष्ठभूमिमा उभिइरहेकामध्ये एकजना छात्राले बच्चा बोकिरहेको भिडियोमा देखिएको छ।

अपहरणकारीहरुले बन्धक बनाएकामध्ये धेरैमाथि यौन दुर्व्यवहार गरेको र बलजफ्ती बिहे गरेको ठानिएको छ।

भिडियोमा एउटा छुट्टै दृश्यमा जमीनमा शवहरु देखिन्छन्।

उक्त समूहले सरकारी हवाई हमलाहरुमा मारिएका केटीहरुको शव भएको बताएको छ।

इस्लामिक शासन स्थापना गर्ने उद्देश्यले बोको हराम समूहले उत्तरी नाइजेरियामा केही वर्षदेखि हिंसात्मक आक्रमण गरिरहेको छ।

उक्त समूहको एउटा गुटले हालै तथाकथित इस्लामिक स्टेट समूहसँग आफ्नो आबद्धता भएको घोषणा गरेको थियो।

सन् २०१४ को एप्रिल १४ तारिखमा ती स्कूले छात्राहरुलाई अपहरण गरिएको थियो।

उनीहरुलाई अपहरणमुक्त गराउन नसकिएकोमा अन्तर्राष्टियस्तरमा आक्रोश व्यक्त गरिएका छन्।

छात्राहरुलाई राखिएको स्थान पत्ता लगाउन अमेरिका र ब्रिटेनलाई आग्रह गरेको नाइजेरियाली सरकारले पर्याप्त कदम नचालेको भन्दै आलोचना खेप्दै आएको छ।