काभ्रे बस दुर्घटना: मृतकको संख्या २७

  • 16 अगस्ट 2016
तस्वीर कपीराइट Reuters
Image caption सडक र बसको दयनीय अवस्थाका कारण पहाडी बाटोहरुमा पटकपटक दुर्घटना हुने गरेको जानकारहरु बताउंछन्

यात्रुले खचाखच एउटा बस काभ्रे जिल्लामा सोमबार दिउंसो दुर्घटनाग्रस्त हुंदा ज्यान गुमाउनेहरुको संख्या २७ पुगेको अधिकारीहरुले बताएका छन्।

नेपाल प्रहरीका प्रवक्ताका अनुसार घाइते ४० जना भन्दा बढी यात्रुलाई उपचारका लागि जिल्ला सदरमुकाम धुलिखेल र राजधानी काठमाण्डूका अस्पतालहरुमा ल्याइएको छ।

प्रारम्भिक अनुसन्धानबाट गाडी र बाटोको दुरावस्था तथा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएजस्तो देखिएको स्थानीय अधिकारीहरुले बताएका छन्।

अप्ठ्यारो बाटो

काठमाण्डूबाट काभ्रेको विकट कात्तिके देउरालीका लागि छुटेको बसमा दुर्घटनाका बेला ८० यात्रुभन्दा बढी सवार रहेको बताइएको छ।

पांचखल पुगेपछि कच्चीबाटो हुंदै गन्तव्यतर्फ हानिएको उक्त बस बिर्तादेउराली भन्ने स्थानमा सडकबाट करीब तीनसय मिटर तल खोलामा खसेको अधिकारीहरुले जनाएका छन्।

दुर्घटनास्थलमा खटिएका जिल्लाका उच्च सरकारी अधिकारी र प्रहरीको संयुक्त टोलीले चिकित्सकहरुको सहायतामा मृतकहरुको घटनास्थलमै सनाखत गरेको थियो भने घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डू र धुलिखेल ल्याइएको थियो।

प्रहरी प्रवक्ता माधव जोशीले भने, "१५ जनालाई धुलिखेलमा र अन्य २८ जनालाई काठमाण्डूमा उपचारका लागि ल्याइएको छ। काठमाण्डूमा एक जनाको उपचारका क्रममा मृत्यु भयो'।

घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेकाले मृतकहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।

अनुमान

दुर्घटनाको कारणबारे अहिले प्रष्ट भइसकेको छैन, तर सडकको दुरावस्था र बसको क्षमताभन्दा बढी भार बोकेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले भने, "सडकको अवस्था ठीक थिएन, त्यसमाथि क्षमताभन्दा बढी यात्रु र सामान बोकेकाले दुर्घटना भएजस्तो देखिन्छ"।

नेपालमा यस्ता सडक दुर्घटनाका कारण पछिल्लो आर्थिकवर्ष २०७२/७३ मा मात्रै दुई हजारभन्दा बढी मानिसको ज्यान गएको प्रहरीको आकंडाले देखाउंछ।

उक्त निकायको विश्लेषणले भन्छ, दुर्घटनाको प्रमुख कारणहरुमध्ये चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोक्नु अनि सडकको दुरावस्थानै हुन्।