'मतदाता विवाद नटुंगाइ चुनाव हुन्न'

  • 15 अगस्ट 2016
तस्वीर कपीराइट bbc

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको ९ वर्षपछि भइरहेको अधिवेशनमा गुटगत विवाद चुलिएको छ।

पार्टीका पूर्व उपसभापति रामचन्द्र पौडेलले फर्जी प्रतिनिधिको समस्या नसुल्झाएसम्म कुनै हालतमा मतदान हुन नदिने अडान लिएका छन्।

संस्थापन पक्षधर मानिने नेता प्रकाशशरण महतले प्रतिनिधि समस्या समाधान गरिसकेको भन्दै सोमबारबाट चुनावी प्रक्रिया शुरु हुने बताए।

देशभरका करीब चार हजार विद्यार्थी सहभागी रहेको अधिवेशन चार दिनमा सक्ने भनिए पनि नवौँ दिन पनि जारी छ।

विवाद

एक त दुई दुई वर्षमा हुनुपर्ने चुनाव बल्लतल्ल ९ वर्षपछि हुँदैछ, त्यसमाथि प्रतिनिधि संख्यालाई लिएर माउ पार्टीकै शीर्षस्थ नेताबीच स्पष्ट मतभिन्नता देखिएको छ।

विवादलाई लिएर आइतबार भएको विरोधमा प्रहरीले लाठी चार्ज गर्नुपर्ने अवस्था श्रृजना भएको थियो।

एक हप्तादेखिको विवाद नटुंगिएसम्म निर्वाचन नै हुन नदिने नेता रामचन्द्र पौडेलले बताए।

उनले भने ,"मतदाता नामावली बिना चुनाव कसरी हुन्छ? मतदाता नामावलीबारेको विवाद पहिले समाधान गर्नुपर्यो र समझदारीमा आउनुपर्यो। त्यो नमिलाएसम्म चुनाव गर्न विद्यार्थीहरु मानिरहेका छैनन्।"

पार्टी नेतृत्वलाई पनि प्रभावित पार्ने भनिएको महाधिवेशन लामो समयपछि हुन लागेकोले विद्यार्थी नेता बन्ने आकांक्षीहरु बढेको देखिएको छ।

पार्टी नेतृत्वले आफ्नो गुटगत राजनीति त्याग्न नसक्नुले नै समस्या थपिएको कतिपय विद्यार्थी नेताहरुले बताएका छन्।

प्रभाव

विवाद सुल्झाउन गठित निर्देशक समितिका सभापति र पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने नेता प्रकाशशरण महतले सोमबारबाट निर्वाचन प्रकृया शुरु हुने दावी गरे।

उनले भने,"पार्टी नेतृत्वको आफ्नो प्रभाव र स्वामित्व कायम राखि राखौं भन्ने मानसिकताले गर्दा यो समस्या आएको हो। नेतृत्वले हात झिक्ने वितिक्कै र नीतिबाट निर्देशित हुने वितिक्कै विद्यार्थी संघमा धेरै ठूलो सुधार आँउछ।"

लामो इतिहास भएको सतारुढ नेपाली कांग्रेस भित्रको भद्रगोल पार्टीको भातृ संगठनको अधिवेशनमा देखिएको बेथितिले छताछुल्ल पारेको टिप्पणीहरु भइरहेका छन्।

हरेक दिन प्रतिनिधि व्यवस्थापनका निम्ति ४० लाख जति रकम खर्च भइरहेको नेविसंघले जनाएको छ।